एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार चन्द्रयान-३ मिशन सफलतापूर्वक प्रक्षेपण गरेको छ । दिउँसो २ः३५ बजे सतीश धवन स्पेस सेन्टरबाट LVM3-M4 रकेटद्वारा चन्द्रयानलाई अन्तरिक्षमा पठाइएको छ। १६ मिनेटपछि रकेटले यसलाई पृथ्वीको कक्षमा राख्यो। इसरो प्रमुख एस सोमनाथले यो सफल प्रक्षेपणपछि चन्द्रयान ३ ले चन्द्रमातर्फ यात्रा सुरु गरेको बताए ।
चन्द्रयान–३ अन्तरिक्ष यानमा तीनवटा ल्यान्डरररोभर र प्रोपल्सन मोड्युल छन्। करिब ४० दिनपछि अगस्टमा ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछन् । दुवैले १४ दिनसम्म चन्द्रमामा परीक्षण गर्नेछन् । प्रोपल्सन मोड्युलले चन्द्रमाको कक्षमा बसेर पृथ्वीबाट आउने विकिरणको अध्ययन गर्नेछ।
यदि यो मिसन सफल भयो भने भारत अमेरिका, रुस र चीनपछि यस्तो गर्ने चौथो देश बन्नेछ । अमेरिका र रुस दुवैले चन्द्रमामा सफलतापूर्वक अवतरण गर्नुअघि धेरै अन्तरिक्ष यान दुर्घटना भएका थिए। सन् २०१३ मा चाङ्गे–३ मिसनमा पहिलो प्रयासमा सफल हुने चीन एक मात्र देश हो।
चन्द्रयान–३ को बजेट करिब ६१५ करोड भारु रहेको छ भने हालै आएको फिल्म आदिपुरुषको लागत ७०० करोड रुपैयाँ थियो । चन्द्रयान–३ यस फिल्मको लागतभन्दा करिब ८५ करोड रुपैयाँ भारु सस्तो छ । यसअघि ४ वर्षअघि पठाइएको चन्द्रयान २ को लागत पनि ६०३ करोड रुपैयाँ थियो । तर, यसको सुरुवातमा पनि ३७५ करोड रुपैयाँ खर्च भएको थियो ।
प्रतिक्रिया दिनुहोस