
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । प्राधिकरणले शुक्रबारदेखि नै सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको हो ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाइएको जानकारी दिए । उनले आर्थिक न्युजसँग भने, ‘हामीले सिम्रिकका हेलिकप्टरलाई शुक्रबारदेखि नै उडान भर्न नपाउनेगरी रोक लगाएका छौं । प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिरेको र बैंक तथा वित्तीय संस्थाहरूमा तिर्नुपर्ने दायित्व निकै देखिएकाले उडानमा रोक लगाउन परेको हो ।’
भुलका अनुसार विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को व्यवस्थाअनुसार सिम्रिक एयरको सम्पूर्ण उडानहरू रोक लगाइएको हो । सिम्रिक एयरको अडिट गर्दा वित्तीय दायित्व अत्याधिक देखिएको छ । समयमा पाइलटहरूलाई तलब खुवाउन सक्ने समेत अवस्था छैन । यता विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार ९ सय रुपैयाँ रकम बुझाउन बाँकी रहेको छ ।
बक्यौता तिर्न पटक-पटक ताकेता गरिएको उनले बताए । क्याप्टेन रोमश्वर थापाको सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर रहेका छन् । एउटा सञ्चालनमा रहेको थियो भने अन्य तीन वटा ग्राउण्डेड रहेका थिए ।
भुलका अनुसार बक्यौता तिर्न नसक्ने र दायित्व बढी भएका अन्य हेलिकप्टर कम्पनीलाई पनि उडानमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । सूचना अधिकारी भुलले भने, ‘हामीले अन्य हेलिकप्टर कम्पनीहरुलाई समेत पत्राचार गरेका छौं । समयमा बक्यौता नतिर्ने र दायित्व बढी भएकाहरुलाई धमाधम उडानमा रोक लगाउने तयारीमा छौं ।’
प्रतिक्रिया दिनुहोस