aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनसेल पनि तत्काल टेरामक्समा नजोडिने, भन्यो : ‘प्रविधिबारे स्पष्ट नभएसम्म इन्टिग्रेट हुँदैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ साउन २०८०
एनसेल पनि तत्काल टेरामक्समा नजोडिने, भन्यो : ‘प्रविधिबारे स्पष्ट नभएसम्म इन्टिग्रेट हुँदैन’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जतिसक्दो चाँडो कार्यान्वयन गर्न खोजेको ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) मा निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल एजियाटा पनि तत्काल नजोडिने भएको छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै एनसेलले टेरामक्सबारे प्राविधिक अध्ययन गरिरहेको र प्रविधिबारे स्पष्ट नभएसम्म इन्टिग्रेट नहुने जानकारी दिएको हो ।

दूरसञ्चार नियामकले कार्यान्वयन गर्न खोजे पनि सरकारी स्वामित्वको सेवाप्रदायक नेपाल टेलिकमले टेरामक्समा नजोडिने अडान लिइरहेको छ । ग्राहकको गोपनीयता हनन्‌ हुने भन्दै प्रतिवाद गरेपछि प्राधिकरणले टेलिकममाथि विभिन्न प्रतिबन्ध नै लगाएको छ । एनसेलले चाहिँ टेरामक्स कार्यान्वयन गर्न आफूहरू तयार रहेको जनाएको थियो ।

सेवाग्राही र सञ्चारमाध्यमले गोपनीयताको सवाललाई लिएर प्रश्न उठाएपछि एनसेल अजियाटा खण्डन नै जारी गर्नुपर्ने स्थितिमा आइपुगेको हो । उले झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न अनुरोध समेत गरेको छ ।

आफूले ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिएको तथा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति नदिइएको एनसेलको दाबी छ । उसले विज्ञप्तिमा लेखेको छ, ‘हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।’

एनसेलले आफ्नो सिस्टमलाई टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट÷कनेक्ट अर्थात नजोडेको उल्लेख गर्दै एनसेलले कुनै पनि परिस्थितिमा आफ्ना ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्ने पनि जनाएको छ ।

टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेकाले ग्राहक गोपनीयताको रक्षा गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको विज्ञप्तिमा लेखेको छ ।

टेरामक्स  सम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही निर्णय लिने एनसेलले जनाएको छ । उसले लेखेको छ, ‘जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं ।’
 

प्रतिक्रिया दिनुहोस