
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले रोल्पामा नेपाल टेलिकम (एनटीसी) को सोलारप्यानलमा क्षति पुर्याइदिएको छ । सार्वजनिक स्वामित्वको नेपाल टेलिकमलाई कमजोर पार्न एनसेलले अनेक हत्कण्डा अपनाउने गरेको छ ।
यही क्रममा एनसेलले रोल्पाको विकट कुरेलीमा सोलार प्यानल राखी दूरसञ्चार सेवा दिइरहेको नेपाल टेलिकमको पूर्वाधारमै क्षति पुर्याइदिएको हो । विद्युतीकरण समेत हुन नसकेको परिवर्तन गाउँपालिकास्थित कुरेली साइटमा एनटीसीले निकै वर्षदेखि सोलार प्यानल प्रयोग गरी सेवा दिइरहेको छ ।
सोही साइटमा टावर ठड्याउन खोजेको एनसेलले आफ्ना कामदार प्रयोग गरी एनटीसीको सोलार पावर सिस्टमको तार नै काटिदिएको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएमले जानकारी दिए । एनसेलले कुरेलीमा एनटीसीकै टावर रहेको स्थानमा जम्मा २० मिटर दूरीमा आफ्नो टावर ठड्याउन खोजिरहेको छ ।
आफ्नो टावर ठड्याएपछि एनटीसी प्रयोगकर्तालाई पनि आफ्नो ग्राहक बनाउने लक्ष्यसाथ एनसेलले यस अघि देखि नै कुरेलीको एनटीसी टावरमा अवरोध गर्ने गरेको थियो । पछिल्लो पटक भने एनसेलको उक्साहटमा उसका कामदारले एनटीसीको सोलार सिस्टमको तार नै काटिदिएका हुन् ।
एनसेलले तार काटिदिएपछि कुरेली साइटबाट एनटीसीको सेवाप्रवाह अवरुद्ध भएको थियो । दूरसञ्चारका लागि सोही साइटबाट एनटीसीले दिएको सेवामा निर्भर विकट रोल्पाका नागरिकले सास्ती खेप्नुपरेको थियो ।
गाउँपालिकाले एनसेलका प्रतिनिधिलाई उप्रान्त सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन र सम्पत्ति दुरुपयोग गर्ने कार्य नदोहोर्याउन चेतावनी दिएको छ । साउन २६ गते कुरेलीमा एनसेलका प्रतिनिधिले एनटीसीको संरचनामा क्षति नपुर्याउने प्रतिवद्धता जनाएका हुन् ।
यता, नेपाल टेलिकमले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै परिवर्तन गाउँपालिकास्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको जनाएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्याइएको जानकारी दिएका हुन् ।
भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने एनटीसीले चेतावनी दिएको छ ।
दूरसञ्चार सेवा प्रदान गर्ने भन्दै भित्रिएको विदेशी कम्पनी एनसेलले नेपालमा कर छली गर्ने, सार्वजनिक लगानीको नेपाल टेलिकम धरासायी बनाउन अनेक हत्कण्डा अपनाउने तथा नेपाली नागरिकको गोपनीयता बिक्री गर्ने लगायत काम गर्ने गरेको छ । पछिल्लो समय विवादित टेरामक्स प्रणालीमा आवद्ध हुन पनि एनसेल अग्रसर देखिएको छ । एनटीसीले भने प्रयोगकर्ताको गोपनीयतामा सम्झौता गर्न नसक्ने जनाउँदै यो प्रणाली अवलम्बन गर्न नसक्ने जवाफ दिएको थियो ।
यस्तो जवाफ दिएलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले सार्वजनिक स्वामित्वको एनटीसीलाई विदेशी मुद्रा सटही सुविधादेखि सार्वजनिक खरिदका काममा प्रतिबन्ध लगाएका छन् । यी सबै काम एनटीसीलाई धरासायी बनाउन खोजिरहेको एनसेलको उक्साहटमा गरिएको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस