aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृत्रिम बुद्धिमत्ता : वरदान कि अभिशाप ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
कृत्रिम बुद्धिमत्ता : वरदान कि अभिशाप ?

अहिले कृत्रिम बुद्धिमत्ता (एआई)को चर्चा संसारभर छ। यो चर्चाको केन्द्रमा हामी प्राय: एउटा प्रश्न पाउने गर्छौँ : एआईले श्रमजीवी वर्गलाई उनीहरूको काममा "सहायता" गर्नेछ वा यसले तिनीहरूलाई प्रतिस्थापन गर्नेछ? अर्थात्, एआई वरदान हो वा अभिशाप ?

यसको उत्तर वास्तवमा सरल छ, एआईले कामदारहरूलाई सहयोग गर्छ र त्यही क्रममा प्रतिस्थापन पनि गर्दै छ। मानौँ, कुनै पत्रकारले आफ्नो समाचार लेख्नको लागि एआई प्रयोग गर्‍यो भने उसले इन्टरनेटमा उपलब्ध धेरै सूचना सहज ढङ्गले प्राप्त गर्न सक्छ। यसरी एआईले लेखिदिएको पाठमा कहाँ कतै गल्ती छ वा तथ्यसँग मेल नखाने पो छ कि भनेर मात्र उसले हेर पुग्छ । हो, यो क्रममा उसले स्वयम् आफ्नो बुद्धिमत्ता पनि प्रयोग गर्छ अनि मात्र त्यो समाचार प्रकाशनको लागि सम्पादक समक्ष पठाउँछ ।

यसरी हेर्दा त्यो पत्रकारले एआईले जे लेखिदियो त्यही त प्रकाशनको लागि पठाएको होइन । कृत्रिम बुद्धिमत्ताले उसलाई सहयोग मात्र गरेको हो । त्यसैले एआई सहयोगी हो भन्ने जस्तो देखिन्छ । त्यसबाहेक एआईले सो पत्रकारको धेरै समय बचाए जस्तो पनि देखिन्छ किनकि एआईले गर्दा उसले  सुरुबाट नै लेख्नुपर्ने अवस्थाको तुलनामा धेरै समय बचत भएको हुनसक्छ।

यो पक्षबाट हेर्दा एआईले पत्रकारहरूलाई सहयोग गर्दै छ, त्यो राम्रो हो ! तर यो एक क्षणको लागि सोच्नुहोस् त। मानौँ कि एआई प्रोग्रामको प्रयोगले सामान्य पत्रकारको समय बचत भएका कारण उसले एकै दिनमा धेरै समाचार लेख्यो भने कसलाई फाइदा हुन्छ ? उनीहरूको कार्यफल धेरै हुँदा त्यसले कस्तो प्रभाव कता कता पार्छ ? किनकि एआईको सहायताले उनीहरूले दिनभर लाग्ने काम त केही घण्टामा नै सक्ने भए ।

यदि प्रत्येक पत्रकारले एक दिनमा दोब्बर काम गर्न सक्छ भने हामीलाई निकै नै कम पत्रकार भए पनि पुग्छ । मनु कुनै संचारमाध्यममा २० जना पत्रकार काम गर्दैछन् भने अब १० जनाले नै त्यो काम गर्न सक्ने भए । यसो हुँदा संचार उद्योगमा पत्रकारको संख्या कटौती हुने भयो ।

यही कथा एआई प्रयोग गर्न हुने अन्य ठाउँमा लागू हुन्छ। यदि एआईले कुनै कम्पनीको करहरू गणना गर्‍यो भने सम्भवतः त्यहाँ थोरै लेखापालहरू चाहिन्छ । इन्जिनियरहरू, आर्किटेक्टहरू र अन्य पेसाहरूमा एआईले ठुलो संख्यामा रोजगारी कम गर्न सक्छ ।

यी सबै अवस्थामा एआईले गरेको "सहायता" होइन, प्रतिस्थापन हो। जब कुनै पेसाहरूमा कामदारहरूको उत्पादकता बढ्यो भने  व्यावसायिक कामदारहरूको आवश्यकता त्यसले घटाउँछ।

यसमा अर्को पक्ष पनि छ सरकारी नीति दशकौँदेखि कम शिक्षित, अदक्ष कामदारको तलब घटाउने गरी डिजाइन गरिएको छ। हामीले विकासोन्मुख देशहरूमा कम पारिश्रमिकका कामदारहरूले उत्पादन गरेका उत्पादित वस्तुहरू विश्वभरको बजारमा पुगेका देखेका छौँ। अब, कृत्रिम बुद्धिमत्ताले त्यो काम गरेर मेसिन चलाउन थालेपछि विश्वभर  निर्माण क्षेत्रमा रोजगारी घट्ने हुनसक्छ । अन्य क्षेत्रमा पनि तलब घट्ने देखिन्छ ।

समग्रमा, एआई ले धेरैलाई काममा सहजता थपेको छ । मानिसहरू यसको प्रयोग गर्न पाएकोमा धन्य महसुस गरिरहेका छन् । तर, एआई मालिक वर्ग र धनाढ्यको लागि मात्र वरदान हो, यो श्रमजीवी वर्गको लागि अभिशाप बन्दै छ ।

प्रतिक्रिया दिनुहोस