aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

याक र हिउँ चितुवाको संरक्षणका लागि मनाङमा फुटबल खेल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०

काठमाडौं । यही भदौ २५ देखि २७ गतेसम्म मनाङमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने, याक र हिउँ चितुवाको संरक्षणका लागि उक्त खेल हुने भएको हो ।  

आइतबार नेपाल टुरिजम बोर्ड भृकुटी मण्डपमा पत्रकार सम्मेलन गर्दै बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेसनको संयुक्त आयोजनामा उक्त खेल हुन लागेको जानकारी गराइएको हो । स्थानीय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई हिउँ चितुवा लगायतका वन्यजन्तुहरूको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने आयोजकले जनाएको छ ।   

मानव र वन्यजन्तुबिच सहअस्थित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्धनमा प्रोत्साहन गर्ने यस खेलको उद्देश्य रहेको छ । कार्यक्रमका आर्कषणहरुमा हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धित जनचेतना जगाउनका लागि मैत्रीपूर्ण कलाकारहरु, खेलाडीहरु, मिस नेपाल मिस्टर नेपाल मिस युनिभर्स नेपालले खेलमा भाग लिने र स्थानीय युवाहरूसँग खेल खेल्ने भएका छन् । 

त्यस्तै, तिमाङ, पिसाङ र मुङजीमा अवस्थित फुटबल मैदानहरूमा सेलिब्रेटि टिम हिमालयन स्नो लिपर्ड र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याकबिच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन, हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणीय यात्रा र विभिन्न उचाइमा रहेका फुटबलका खेल मैदानहरू, हिउँ चितुवा वासस्थानको भ्रमण गरिने कार्यक्रम रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस