aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

खेलकुदमा अर्बौं डलर किन ओइर्‍याउँदैछ साउदी अरब ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ भदौ २०८०
खेलकुदमा अर्बौं डलर किन ओइर्‍याउँदैछ साउदी अरब ?

ब्राजिली फूटबलर नेयमार जुनियरलाई हालै साउदी अरबको अल–हिलाल क्लबले वर्षको ४०० मिलियन पाउन्ड (करिब ६६ अर्ब नेपाली रुपैयाँ) दिनेगरी भित्र्यायो ।

यसअघि नै पोर्चुगिच विश्वविख्यात फूटबलर क्रिस्टियानो रोनाल्डो पनि साउदीकै क्लब अल–नासरमा कीर्तिमानी मूल्यमा अनुबन्ध भइसकेका छन् । हाल अमेरिकाको इन्टर मियामी क्लब पुगेका विश्वविजेता फूटबलर लियोनल मेस्सीलाई भित्र्याउन त साउदीले अकल्पनीय रकम प्रस्ताव गरेको थियो ।

तेल र खजुरको देश साउदी अरब खेलकुदप्रति किन आकर्षित भइरहेको छ ? के, मरुभूमिको यो देश आफ्नो परम्परागत पहिचानबाट माथि उठ्न खोज्दैछ ? या, मध्यपूर्वमा साउदीले केही गर्दैछ–जसले विश्व शक्ति सन्तुलनमै धक्का दिनेछ भन्ने सवाल उठिरहेको छ । 

साउदीलाई विश्वले सबैभन्दा खनिज तेल उत्पादन गर्ने मुलुक भनी चिनेको हो । त्यही तेल विश्वलाई बेचेर उसले मनग्य नाफा कमायो । सो नाफाले देशमा अत्याधुनिक पूर्वाधार निर्माण गर्‍यो । सेनालाई आधुनिकीकरण गर्‍यो । गरिबी निवारणदेखि रोजगारी सृजना गर्ने मामिलामा साउदी अरबले रेकर्ड कायम गरेको छ भन्दा फरक नपर्ला । पछिल्लो समय ऊ प्रविधितर्फ पनि उन्मुख भयो । अहिले साउदी अन्तरीक्ष मिसनसम्म पुगिसकेको छ ।

विदेशी खेलाडीहरूलाई अनुबन्ध गर्न मात्रै यो गर्मी सिजनमा साउदी प्रो लिगले ट्रान्सफर फिसका लागि ८५० मिलियन अमेरिकी डलर (करिब १ खर्ब १० अर्ब रुपैयाँ) खर्च गरिसकेको छ । यो कुनै सानो रकम होइन ।

अन्तरीक्ष मिसन नै चलाइरहेको देश साउदीले त्यसमा भन्दा फूटबलमा धेरै खर्च गर्नुको कारण छ । परम्परागत दुस्मनी मोलिरहेको छिमेकी कतारले सन् २०२२ मा विश्वकप आयोजना गरेपछि साउदी अरबलाई जलन भएको छ । त्यसैले ऊ विश्वमा नाम चलेका फूटबल स्टारहरूलाई धमाधम भित्र्याउँदैछ र कतारबाट आफूतर्फ विश्व फूटबल प्रेमीको ध्यान खिच्न खोज्दैछ । 

विदेशी खेलाडीहरूलाई अनुबन्ध गर्न मात्रै यो गर्मी सिजनमा साउदी प्रो लिगले ट्रान्सफर फिसका लागि ८५० मिलियन अमेरिकी डलर (करिब १ खर्ब १० अर्ब रुपैयाँ) खर्च गरिसकेको छ । यो कुनै सानो रकम होइन । भारतले हालै प्रक्षेपण गरेको चन्द्रयान–३ मिसनको लागत जम्माजम्मी ७५ मिलियन अमेरिकी डलर हो ।

यति धेरै रकम खर्च गरेको साउदी प्रो लिग अब इङ्लिस प्रिमियर लिग पछिको स्थानमा आइपुगेको छ । तर, यो गणनामा साउदीले खेलाडीलाई लोभ्याउन दिएको आकर्षक तलब समावेश गरिएको छैन । र, अहिलेसम्म जति खर्च भएको छ : त्यो आगामी दिनमा गुणात्मक बढ्दै जाने साउदी प्रो लिगका मुख्य वित्तीय अधिकारी कार्लो नोहरा बताउँछन् । 

नोहराका अनुसार साउदी सरकारले प्रो लिगलाई विश्वकै सर्वश्रेष्ठ लिगको हैसियमा पुर्‍याउन जतिसुकै खर्च गर्न तयार छ । यो लिगको उद्देश्य नै इङ्ग्लिस प्रिमियर लिग र स्पेनिश ला लगालाई टक्कर दिनु हो । यो उद्देश्य हासिल गर्न साउदी क्लबहरूले चर्चित विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । यस निम्ति खर्च गर्ने क्रम जारी रहनेछ । चर्चित खेलाडी भित्र्याउँदा साउदी र त्यहाँको क्लबलाई व्यवसायिक लाभ त हुने नै छ । 

‘सफ्ट पावर’ बन्ने दौड

माथि नै उल्लेख गरियो कि विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक देश साउदीले पछिल्ला वर्ष खेल क्षेत्रमा अर्बाैं डलर खर्च गरिरहेको छ । यस अन्तर्गत प्रो लिगलाई बदल्नेदेखि फर्मूला वान कार रेस चलाउने सम्मका योजना छन् । उसले एलआइबी गल्फ टूर्नामेन्टमा पनि ठूलो लगानी गर्दैछ ।

आलोचकहरूले चाहिँ साउदी अरबले राखिरहेको खराब मानवअधिकार रेकर्डबाट मानिसको ध्यान भड्काउन खेल क्षेत्रमा लगानी बढाएको बताउने गरेका छन् । यस्तो आलोचना हुँदाहुँदै पनि सो देशले आफ्नो वित्तीय व्यवस्थामा विविधता ल्याउन मनोरञ्जन उद्योगसमेत विस्तार गर्दैछ । 
कारण के त ? 

तेलबाट प्राप्त हुने गरेको राजस्व घट्नुअघि नै साउदीले आफ्नो अर्थतन्त्रलाई अन्य माध्यमबाट बलियो बनाउन खोजिरहेको छ । अहिले साउदीले कूल गार्हस्थ उत्पादन (जीडीपी) को ४० प्रतिशत हिस्सा राजस्व तेलबाट संकलन गर्ने गरेको छ ।

साउदी अरबले खेल क्षेत्रमा यति धेरै लगानी गर्नुका पछाडिको कारण आफ्नो छवि राम्रो बनाउनु या प्रतिष्ठा हासिल गर्नुमात्रै नभएको बताइन्छ । बीबीसीका अनुसार पेरिसस्थित स्केमा बिजनेस स्कूलमा स्पोर्ट एण्ड जियोपोलिटिकल इकोनोमीका प्राध्यापक सिमोन चैडविक खेल र मनोरञ्जनलाई विश्वभरका देशले नीतिगत हतियार बनाउन हरसम्भव प्रयास गर्छन् । त्यस्तो नीतिगत हतियार, जसले ती देशलाई सफ्ट पावर (सौम्य शक्ति) का रूपमा उभिन सहयोग गरोस् ।

कारण अर्को पनि छ । जलवायु परिवर्तनको चपेटामा लपेटिएको विश्व अब स्वच्छ ऊर्जातर्फ उन्मुख हुँदैछ । यस्तो ऊर्जाको प्रयोग बढ्दै जाँदा साउदीको मुख्य आम्दानीको स्रोत प्रदूषक खनिज इन्धनको माग घट्नेछ । माग घट्दा राजस्व अर्थात् आम्दानी पनि कम हुनेछ । तेलबाट प्राप्त हुने गरेको राजस्व घट्नुअघि नै साउदीले आफ्नो अर्थतन्त्रलाई अन्य माध्यमबाट बलियो बनाउन खोजिरहेको छ । अहिले साउदीले कूल गार्हस्थ उत्पादन (जीडीपी) को ४० प्रतिशत हिस्सा राजस्व तेलबाट संकलन गर्ने गरेको छ । 

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले खेलकूदलाई सरकारको भिजन–२०३० को मूख्य स्तम्भ बनाएका छन । यो भिजनको उद्देश्य तेलको राजस्वमा देशको निर्भरता कम गर्ने तथा नयाँ उद्योग निर्माण गरी रोजगारी सृजना गर्नु हो । 

साउदी अरबका मानिसहरू फूटबल खेल रुचाउँछन् । त्यहाँका ८० प्रतिशत मानिसले यो खेल खेल्छन् या हेर्छन् । त्यहाँ लोकप्रिय यो खेलमा सरकारले प्रारम्भिक लगानी गर्दा फाइदा नै फाइदा छ । लगानी लाभ पनि विस्तारित छ । खाडी देशको फूटबल पावरहाउस बन्ने आकांक्षालाई पनि लगानी रणनीतिले सघाउनेछ ।

प्रतिक्रिया दिनुहोस