aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जोमसोम–पोखरा हवाई सेवा सञ्चालन, पर्यटकलाई सहज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ भदौ २०८०
जोमसोम–पोखरा हवाई सेवा सञ्चालन, पर्यटकलाई सहज
फाइल फोटो

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो । 

जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए । “मौसममा सुुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।”

तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुुईजना आन्तरिक पर्यटक मुुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । 

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस