aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अब सातै प्रदेशमा टेलिकमको फोरजी, यस्तो छ सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
अब सातै प्रदेशमा टेलिकमको फोरजी, यस्तो छ सुविधा

 काठमाडौं । नेपाल टेलिकमले फोरजी र एलटीई सेवाको नेटवर्क सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख शहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक शुरुवात गर्नुभएको हो । 

फोरजी इन्टरनेटको यसको प्रयोगपश्चात उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछ । 

विस्तारित फोरजीरएलटीई सेवा एलटीई एड्भान्स प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ । फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । यसअघि नै मोबाइलका उपभोक्तालाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शतप्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिने टेलिकमले जनाएको छ । 
अब टेलिकमका ग्राहकले २५ रुपैयाँमा ४०० एमबी डाटा पाउने छन् । यसअघि टेलिकमले २५ रुपैयाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो । यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ । यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । 

यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ । यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने टेलिकमले जनाएको छ । 
नेपाल टेलिकमले पहिलोपटक २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी र एलटीई सेवाको शुरुवात गरेको थियो । बुधबारबाट यो सेवा ३२ जिल्लामा विस्तार गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस