aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असोज २०८०
सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६  मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका हुन ।
     
विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताए ।

    उनले भने, “हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौँ तर, यसका लागि कस्तो नीति बनाएका छौँ भन्ने कुरातिर ध्यान दिन सकेका छैनौँ । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि विभिन्न योजना बनाइरहेका छौँ । जसअन्तर्गत सगरमाथाको आठ हजार मिटरमाथिको उचाइबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागू हुन्छ ।”
     
पर्यटनमन्त्री किरातीले नेपालको ऐन कानून र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरूले चुनौती सिर्जना गरेको बताए । उनले भने, “सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ । लयबद्धरूपमा काम गर्दै जाने हो, उसमा सोच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।”
 
   सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको उनले बताए । उनले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको बताए ।
     
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन्दर मुलुकलाई पर्यटन प्रवर्द्धकका रूपमा लिन सक्यौँ भने ठूलो योेगदान गर्न सकिने बताए । उनले छिमेकी मुलुक भारत र चीनबाट मात्रै पर्यटक ल्याउन सकिए पर्यटन विकासलाई सार्थक बनाउन सकिने धारणा राखे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले ‘मुलुकको समृद्धिका लागि पर्यटन ः हिमाल, पर्यटन, जलवायु परिवर्तन र महिला’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हिमालमा जोखिम बढेकाले समयमै पूर्वतयारी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
     
उनले जोखिमको अवस्थामा रहेका हिमतालको पानी निकास गरेर जलविद्युत् उत्पादन गरी जोखिम कम गर्न सकिने बताए। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पर्यटन विशेषज्ञ डा अनुकुमारी लामाले ‘हिन्दूकुश हिमालय क्षेत्रमा पर्यटन  यस क्षेत्रको समृद्धिका लागि विशिष्ट अवसर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन क्षेत्रबाट समृद्धि लागि रणनीतिक योजनाहरू आवश्यक भएको बताए ।
     
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताए। उनले भने, “एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्कोतिर भएका पूर्वाधार जोगाउने चुनौती छ । साथै अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।” रासस

प्रतिक्रिया दिनुहोस