aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सम्मेलनका नाममा ६० लाख रुपैयाँ हिनामिना गर्न पर्यटन बोर्ड सञ्चालक समिति बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
सम्मेलनका नाममा ६० लाख रुपैयाँ हिनामिना गर्न पर्यटन बोर्ड सञ्चालक समिति बैठक बस्दै

काठमाडौं । विवादास्पद कार्यक्रममा छुट्याइएको बजेट खर्चने कार्यविधि पारित गर्न नेपाल पर्यटन बोर्ड सञ्चालक समिति नै लागिपरेको छ । यसकै लागि आज (मंगलबार) साँझ सवा पाँच बजे बोर्ड सञ्चालक समिति बैठक डाकिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीको दबाबमा राखिएको ‘सेकेन्ड इन्टरनेशनल माउन्टेन डेभलपमेन्ट कन्फर्नेन्स’ का नाममा ६० लाख रुपैयाँ बजेट खर्चन बोर्ड सञ्चालक समिति नै लागिपरेको हो । रेग्मीले सम्मेलन आगामी बिहीबारदेखि शनिबारसम्म पोखरामा आयोजना गर्न खोजेका हुन् ।

गण्डकी प्रदेशका लागि छुट्याइएको १० करोड रुपैयाँबाट समेत खर्च गर्नेगरी रेग्मीले पर्यटन बोर्डको वार्षिक बजेटमै यो कार्यक्रममा ६० लाख रुपैयाँ छुट्याउन लगाएका छन्‌ । यो सम्मेलन जापान र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा संस्थाहरूले आयोजना गर्ने भनिएको छ । तर, सम्मेलनको खर्च भने आश्चर्यजनक रूपमा बोर्डले गर्न लागेको हो ।


पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी ।

रेग्मीले नै सो सम्मेलनका लागि एमएसडी नेपालमार्फत रजिस्ट्रेशन शुल्क उठाउन लगाएका थिए । रेग्मीको आफ्नै कम्पनी द हिमालयन रिसर्च सेन्टर पनि यसमा परोक्ष संलग्न देखिएको छ । सम्मेलनका लागि उठाइएको रजिस्ट्रेशन शुल्क नेपालमा नभई जापानी कम्पनीको खातामा जम्मा भइसकेको छ ।

यस्तो विवादास्पद कार्यक्रमका लागि छुट्याइएको बजेट खर्चन आवश्यक कार्यविधि पारित गर्न पर्यटन बोर्डको सञ्चालक समिति नै रेग्मीसामू लत्रिएको हो । सभा/सम्मेलनका लागि बजेट खर्चन छुट्टै नयाँ कार्यविधि बनाइएको थियो । रेग्मीको स्वार्थ रहेको सम्मेलनको दिन नजिकिँदै जाँदा बजेट प्रवाह गर्न सो कार्यविधि हतारहतार पारित गर्न खोजिएको हो ।

‘मंगलबार बिहान सञ्चालक समिति बैठक बोलाइएको थियो, तर कोरम नपुगेपछि स्थगित भएको भनिएको छ,’ बोर्डका एक कर्मचारीले भने, ‘बेलुकी पाँच बजे राख्ने प्रयास गरिएको छ, बेलुकी पनि कोरम नपुगे बुधबार बिहान बस्ने पक्कापक्की छ ।’

बैठकमा आउन सचिव सुवेदीको फर्मान

विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव भरतमणि सुवेदीले नै बैठकमा उपस्थित हुन सरकार तर्फका सदस्यहरूलाई सोमबार बिहानै उर्दी जारी गरेका थिए । सचिव सुवेदी हाल बोर्ड सञ्चालक समितिका अध्यक्ष हुन् ।


पर्यटन मन्त्रालयका सचिव भरतमणि सुवेदी ।

‘बिहानै उहाँले सरकारका तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूलाई बैठकमा जसरी पनि उपस्थित हुन फोन गर्नुभएको रहेछ, तर कोरम नपुगेपछि साँझ सवा पाँच बजे बैठक बोलाउनुभएको छ,’ स्रोतले भन्यो, ‘विवादास्पद सीईओको स्वार्थ समेटिएको विवादास्पद सम्मेलनलाई सहजीकरण गर्न सचिवज्यूले लगाउनुभएको इफोर्ट शंकास्पद छ, यो सम्मेलनका नाममा उहाँले पनि अनुचित आर्थिक लाभ लिँदै हुनुहुन्छ भन्ने सुनिएको छ ।’

अध्यागमनका डिजी तामाङको भूमिका पनि शंकास्पद

पर्यटन बोर्डले चालू आर्थिक वर्षमा अध्यागमन विभागलाई डिस्प्ले बोर्ड तथा अन्य उपकरण खरिद गर्न तीन करोड रुपैयाँ छुट्याएको छ । अन्तरराष्ट्रिय विमानस्थलहरूमा राख्ने भनिएको डिस्प्ले र कियोस्क मेसिन खरीद गर्न कुनै कार्यविधि नै बनेको छैन ।

तर, अध्यागमन विभागका महानिर्देशक (डीजी) रुद्रसिंह तामाङले रेग्मीले झैं यो बजेटमा निकै चासो देखाएका बोर्डका कर्मचारीहरू बताउँछन् । स्वीकृत गर्न बैठक बस्न लागेको हो । तर यी कामका लागि कार्यविधि नै बनाइएको छैन । डिस्प्ले बोर्ड र क्योस्ट खरिदमा  तीन करोड छुट्याउन अध्यागमनका डिजी रुद्र तामाङको पनि विशेष चासो रहेको स्रोतले जानकारी दियो ।


अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ ।

रेग्मीकै स्वार्थका कारण बजेटमा बिलम्ब

रेग्मीकै स्वार्थका कारणले बोर्ड सञ्चालक समितिले यसपटक दुई महिना ढिला गरी असोज ७ गतेमात्रै चालू आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गर्न सकेको थियो । बजेटको आकार दुई अर्ब एक करोड २३ लाख ४५ हजार रुपैयाँ बराबर छ । सीईओ रेग्मीले विदेशमा जनसम्पर्क एजेन्ट राख्नमात्रै २० करोड रुपैयाँ माग गरेका थिए । उनको यो माग भने बजेटमा अस्वीकृत भएको छ ।

रेग्मीले वि.सं. २०७८ सालको भाइटीकाका दिन लण्डनबाट ६ बोतल रक्सी बोकेर आउँदा केरकरमा परेपछि कर्मचारीलाई दुर्व्यवहार गरेका थिए । सो प्रकरणमा उनलाई भन्सार प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो भने बोर्ड सञ्चालक समितिले सोही वर्ष पुस २ गते सीईओ पदबाट निलम्बन गरेको थियो ।

यस्ता विवादास्पद छविका रेग्मीले सोझै लाभ लिनेगरी तयार गरेको बजेट पारित गर्न बस्न लागेको सञ्चालक समिति बैठकमा अनिवार्य उपस्थित हुन विभागीय मन्त्रालयका सचिव भरतमणि सुवेदीले लबिइङ गरेका हुन् । रेग्मीको चार वर्षे कार्यकाल माघमा सकिँदैछ । उनले कार्यकाल सकिनुअघि नै सरकारी अधिकारीहरूलाई रिझाएर बजेट दुरुपयोग गर्न खोजेका हुन् ।

रेग्मीले बोर्डको वार्षिक बजेटमा सेकेन्ड इन्टरनेशनल माउन्टेन डेभलपमेन्ट कन्फर्नेन्स आयोजना गर्न खोजेका छन् । यो सम्मेलन पूर्वनिर्धारित तालिकाअनुसार आगामी बिहीबारदेखि शनिबारसम्म आयोजना गर्नुपर्नेछ । तर, बजेट पारित नहुँदा सम्मेलनका नाममा खर्च गर्न रेग्मीलाई सकस परेको छ ।

प्रतिक्रिया दिनुहोस