aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माइस कार्यविधिलाई लिएर पर्यटन बोर्डमा तनाव, सीईओ रेग्मी पोखरा पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
माइस कार्यविधिलाई लिएर पर्यटन बोर्डमा तनाव, सीईओ रेग्मी पोखरा पुगे

काठमाडौं । नेपाल पर्यटन बोर्डका विवादास्पद सीईओ धनञ्जय रेग्मीको स्वार्थ पूरा गर्न बनाइएको माइस कार्यविधिलाई लिएर पर्यटन बोर्ड तनावग्रस्त भएको छ । मंगलबार बेलुकी बसेको बैठकमा झण्डै हात हालाहालकै स्थिति निम्तिएको हो ।

एक साताभित्रै ६० लाख रुपैयाँ हिनामिना गर्नेगरी हिजो (मंगलबार) दिनभर माइस कार्यविधि पारित गराउन सञ्चालक समितिका पदाधिकारीहरूले दिनभर प्रयास गरेका थिए । तर, आर्थिकन्यूजले बैठक बस्नु अगावै समाचार सार्वजनिक गरेपछि कार्यविधि पारित गर्नबाट सञ्चालक समिति पछि हटेको हो ।

सम्मेलनका नाममा ६० लाख रुपैयाँ हिनामिना गर्न पर्यटन बोर्ड सञ्चालक समिति बैठक बस्दै

समाचार सार्वजनिक भएपछि बैठकमा पर्यटन सचिव तथा बोर्ड अध्यक्ष भरतमणि सुवेदी निकै आक्रोशित देखिएका थिए । उनी सीईओ रेग्मीका कारण आफू पनि बदनाम हुने स्थिति निम्तिएको भन्दै कार्यविधि पारित गर्नबाट पछि हटेका हुन् ।

‘सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू सीईओ रेग्मीप्रति निकै आक्रोशित देखिनुभयो, भनाभन हुँदै झण्डै हात हालाहालको स्थिति निम्तियो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘बैठकले कार्यविधि पारित नगरेपछि सीईओ रेग्मी निराश हुँदै हिजै पोखरातिर लागेका छन् ।’

किन निम्तियो तनाव ?

पर्यटन बोर्डको इतिहासमै सबैभन्दा विवादित सीईओ धनञ्जय रेग्मीले व्यक्तिगत लाभ लिने हिसाबले विभिन्न शीर्षकमा चालू आर्थिक वर्षमा पनि करोडौं बजेट राख्न लगाएका थिए । तर, सञ्चालक समितिले रेग्मीका स्वार्थ झल्कने कतिपय कार्यक्रम र बजेट आकारमा कैंची चलाइदिएको थियो ।

रेग्मीले यसैबीच भोलि (बिहीबार) देखि पोखरामा शुरु हुने ‘सेकेन्ड इन्टरनेशनल माउन्टेन डेभलपमेन्ट कन्फर्नेन्स’ का नाममा पर्यटन बोर्डबाट ६० लाख रुपैयाँ हत्याउन खोजेका थिए । तर, यसका लागि माइस कार्यविधि पारित हुनुपथ्र्यो । कार्यविधि पारित नभई सम्मेलनका नाममा बजेट निकासी गरेको पुष्टि भए रेग्मी र बोर्डका अधिकारीहरूमाथि कारबाही हुन सक्छ ।

निकै अघिदेखि रेग्मीले सञ्चालक समितिबाट यो कार्यविधि पारित गराउन प्रयास गरिरहेका थिए । तर, सञ्चालक समितिलाई आश्वस्त पार्न सकेका थिएनन् । मंगलबार भने यो कार्यविधि पारित गराउन बिहानैदेखि सरकारका तर्फबाट सञ्चालक समितिमा पुगेका सदस्यहरूले नै पहल गरिरहेका थिए । त्यसैले एकैदिन दुईपटक बैठक बोलाइएको थियो ।

बिहान बोलाइएको बैठकमा कोरम नपुगेपछि पुनः बेलुकी सवा पाँच बजे डाकिएको थियो । सो बैठक अगावै सम्मेलनसम्बन्धी माइस कार्यविधि पारित गरेर ६० लाख अनियमितता गर्न खोजिएको समाचार आर्थिकन्यूजमा प्रकाशन भएको थियो ।

गण्डकी प्रदेशका लागि छुट्याइएको १० करोड रुपैयाँबाट समेत खर्च गर्नेगरी रेग्मीले पर्यटन बोर्डको वार्षिक बजेटमै यो कार्यक्रममा ६० लाख रुपैयाँ छुट्याउन लगाएका छन् । यो सम्मेलन जापान र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा संस्थाहरूले आयोजना गर्ने भनिएको छ । तर, सम्मेलनको खर्च भने आश्चर्यजनक रूपमा बोर्डले गर्न लागेको हो ।

रेग्मीले नै सो सम्मेलनका लागि एमएसडी नेपालमार्फत रजिस्ट्रेशन शुल्क उठाउन लगाएका थिए । रेग्मीको आफ्नै कम्पनी द हिमालयन रिसर्च सेन्टर पनि यसमा परोक्ष संलग्न देखिएको छ । सम्मेलनका लागि उठाइएको रजिस्ट्रेशन शुल्क नेपालमा नभई जापानी कम्पनीको खातामा जम्मा भइसकेको छ ।

यस्तो विवादास्पद कार्यक्रमका लागि छुट्याइएको बजेट खर्चन आवश्यक कार्यविधि पारित गर्न पर्यटन बोर्डको सञ्चालक समिति नै रेग्मीसामू झण्डै लत्रिएको थियो । 

रेग्मीकै स्वार्थका कारणले बोर्ड सञ्चालक समितिले यसपटक दुई महिना ढिला गरी असोज ७ गतेमात्रै चालू आर्थिक वर्ष २०८०र८१ को बजेट स्वीकृत गर्न सकेको थियो । बजेटको आकार दुई अर्ब एक करोड २३ लाख ४५ हजार रुपैयाँ बराबर छ । सीईओ रेग्मीले विदेशमा जनसम्पर्क एजेन्ट राख्नमात्रै २० करोड रुपैयाँ माग गरेका थिए । उनको यो माग भने बजेटमा अस्वीकृत भएको छ ।

रेग्मीले वि.सं. २०७८ सालको भाइटीकाका दिन लण्डनबाट ६ बोतल रक्सी बोकेर आउँदा केरकरमा परेपछि कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । सो प्रकरणमा उनलाई भन्सार प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो भने बोर्ड सञ्चालक समितिले सोही वर्ष पुस २ गते सीईओ पदबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस