
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १७ को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।
उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आज (२०८० असोज १७ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्न पाएकी हुन ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरिकी हुन । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभएको थियो भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी हुन ।
उन २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी हुन । पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस