aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनटीबी कर्मचारी संगठनले भन्यो : ‘वर्ल्ड ट्राभल मार्टमा सहभागिता नजनाउनु दुःखद’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
एनटीबी कर्मचारी संगठनले भन्यो : ‘वर्ल्ड ट्राभल मार्टमा सहभागिता नजनाउनु दुःखद’

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) कर्मचारी संगठनले वर्ल्ड ट्राभल मार्ट (डब्ल्यूटीएम) मा नेपालले सहभागीता नजनाउनु दुःखद भएको बताएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले ४० वर्षदेखि सहभागीता जनाउने गरिएको मार्टमा यो वर्ष नजानु दुःखद भएको जनाएको हो ।

वर्ल्ड ट्राभल मार्टलाई पर्यटन क्षेत्रको कुभ्ममेला मानिन्छ । यो मार्ट लण्डनमा आगामी नोभेम्बर ६ देखि ८ तारिखसम्म आयोजना हुँदैछ । तर, पर्यटन बोर्डको व्यवस्थापकीय नेतृत्वको उदासीनता, अकर्मण्यता र बदनियतका कारण नेपाल र नेपालका धेरै पर्यटन व्यवसायीहरूले मार्टमा आफ्नो उपस्थिति देखाउन नपाउने दुखद अवस्था सृजना भएको बोर्डको कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

डब्ल्यूएममा सहभागीता नजनाएको नेपालले अर्को ठुलो पर्यटन मेला आइटीबी, बर्लिन लगायतका मेलाहरूमा पनि पर्यटन क्षेत्रको प्रवर्द्धन र बजारीकरणको लागि अवसरको लाभ उठाउन सकिने अवस्था गुमाउन नहुने संगठनले जनाएको छ । यस्ता मेलाहरूमा संसारभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरू, डेस्टिनेसन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकायलगायतले भाग लिने गर्छन्‌ ।

विगतमा बोर्डको वार्षिक बजेट ढिला पारित हुँदा पनि डब्ल्यूटीएम, जाटालगायत यस्ता थुप्रै पर्यटन मेलाहरूमा नेपाल पर्यटन बोर्डको व्यवस्थापनले कार्यकारी समितिबाट विशेष निर्णय गराएर अटुट रुपमा सहभागिता जनाउने गरेको संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो छ संगठनको विज्ञप्ति :

 

                                                   नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन

प्रेस बिज्ञप्ती

२०८० असोज २

मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकार र निजि क्षेत्रको पर्यटन प्रवर्धन र विकासमा हुने भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि. सं. २०५३ मा नेपाल पर्यटन बोर्ड ऐन, २०५३ जारी भएको थियो l त्यसपछि नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागलाई विघटन गरी  नेपाल पर्यटन बोर्डको स्थापना २०५५ सालमा गरेको थियो l निजि क्षेत्रको सकृयतामा सफलतापूर्वक सम्पन्न नेपाल भ्रमण वर्ष १९९८ अभियानको अनुभव र सिकाईबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास र बजारीकरण गर्ने मूल उद्देश्यलाई सार्थक बनाउनका लागि निजि क्षेत्रको समान नेतृत्व रहने गरी नेपालको राष्ट्रिय पर्यटन सङ्गठनका रूपमा नीजि क्षेत्रले अघि सारेको अवधारणा र सक्रियतामा नेपाल पर्यटन बोर्ड खडा भयो l  

स्थापना काल देखि नै मुख्यत श्रोत बजारमा नेपालको उपस्थितिलाई बढी भन्दा बढी पर्यटन व्यवसायीहरू सँगको साझेदारी र सहकार्यमा सुदृढ बनाउन बोर्डले विश्वका बिभिन्न देशका सहरहरूमा हुने पर्यटन मेलाहरूमा  सहभागीता र उपस्थित जनाउदै आएको, सेल्समिसन र गन्तव्य प्रवर्धनको कार्यक्रम व्यापक सफलताको साथ आयोजना गर्दै आएको यसको गर्विलो इतिहास रहेको छ ।

नेपाल पर्यटन बोर्ड स्थापना हुने भन्दा पहिला देखि नै गत वर्ष सम्म गरेर चालिस वर्षदेखि नेपाल सहभागी हुँदै आएको वर्ल्ड ट्राभल मार्ट (WTM) मा सहभागी हुँदै आएको थियो भने बोर्डको स्थापना पश्चात अझ सशक्त रूपमा सहभागी भईरहेको थियो । पर्यटन क्षेत्रको वृहत कुम्भमेला वर्ल्ड ट्राभल मार्ट (WTM ) लण्डनमा नेपालको पर्यटनको प्रचार प्रसारको लागि निरन्तर चालिस वर्षदेखिको उपस्थितिलाई यो वर्ष सन् २०२३ मा बोर्डको व्यवस्थापिकीय नेतृत्वको उदासीनता, अकर्मण्यता र बदनियतका कारण नेपाल र नेपालका धेरै पर्यटन व्यवसायीहरूले आफ्नो उपस्थिति देखाउन नपाउने दुखद अवस्था सृजना भएको छ l  WTM लण्डन सँगै अर्को ठुलो पर्यटन मेला ITB, बर्लिन  लगायतका मेलाहरूमा पनि पर्यटन क्षेत्रको प्रवर्द्धन र बजारीकरणको लागि अवसरको लाभ उठाउन सकिने अवस्थालाई भने गुमाउन हुँदैन भन्ने कुरा यो संगठन माग गर्दछ। यस्ता मेलाहरूमा संसारभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरू, डेस्टिनेसन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकायलगायतले भाग लिन्छन् ।वर्ल्ड ट्राभल मार्ट (WTM) लण्डनमा सहभागी हुने अवासर त गुमिनै सक्यो तर सन् २०२३ र २०२४ मा विश्वका विभिन्न देशहरूमा हुने पर्यटन प्रवर्द्धन कार्यक्रमहरूमा यस्तो दुखद अवस्था नहोस् भन्ने यो नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन बोर्ड व्यवास्थापलाई खबरदारी गर्न चाहन्छ l विगतमा पनि अप्ठ्यारा परिस्थितिहरूमा बोर्डका वार्षिक बजेट ढिला पारित हुँदा पनि WTM, JATA लगायत यस्ता थुप्रै पर्यटन मेलाहरूमा नेपाल पर्यटन बोर्डको व्यवस्थापनले कार्यकारी समितिबाट विशेष निर्णय गराएर अटुट रूपमा सहभागिता भईरहेको थियो।स्मरण लायक त यो कुरा पनि छ जुन वेलामा नेपाल पर्यटन बोर्डका उच्च व्यवस्थापन तहका पदाधिकारीहरू श्री विशेष अदालतमा मुद्दामा रहेको समयमा कार्यालयमा जम्मा ३ जना प्रवन्धक र १३ जना अधिकृत कर्मचारीहरू मात्र रहेको समयमा पनि नेपाल सहभागी भएका अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा उपस्थितिलाई निरन्तरता दिएकै थियो यसका अलावा नयाँ नयाँ गन्तव्यमा हुने पर्यटन मेलाहरूको समेत खोज अध्ययन गरी केही उपयुक्त मेलाहरूमा थप सहभागिता समेत गर्न शुरुवात गरेको थियो । जसमध्ये केही कोभिड- १९ को महामारीको कारण रोकिन गएको थियो l यस प्रकरको मेलाहरूमा सहभागी हुन केही व्यवधान भए आवश्यक पहल गर्न कर्मचारीहरूसमेत तयार रहेको भनी बारम्बार कार्यकारी प्रमुखलाई यो संगठनले अनुरोध गर्दै आएको छ l आवश्यकता अनुसार नेपाल सरकारका सम्वन्धित निकायहरूमा समेत पहल कदमीका लागि अनुरोध गर्न सम्पूर्ण कर्मचारी तयार रहेको प्रतिबद्दता समेत व्यक्त गरेको थियो । तर यस्तो गम्भीर बिषयमा बोर्ड उच्च व्यवस्थापनबाट सकारात्मक सुनुवाई नहुनु दुखद हो भन्ने यस संगठनलाई लागेको छ l

हाल मुलुकमा देखा पर्दै गरेको आर्थिक क्षेत्रको कमजोरीलाई धेरै हदसम्म दरिलो टेवा दिने क्षेत्रको रूपमा सरकारले समेत पहिचान गरेको यो पर्यटन क्षेत्रको प्रवर्द्धन र नेपालको पर्यटनको बजारीकरणको विशेष महत्व बोकेका अन्य कार्यक्रमहरूमा नेपालको सहभागिता सुनिश्चित गर्नुको सट्टा पर्यटन व्यसयीहरूको सहभागिता नै हुन नसक्ने, नेपाल भ्रमणको प्याकेज सोकेशिंग गर्ने अवसर नै नदिएको भंगोलबिद्हरुको वैज्ञानिक सम्मेलनलाई आयोजना गर्न जोड गर्ने बोर्ड व्यवस्थापन नेतृत्वको कार्य भत्सर्ना लायक रहेको छ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिले पटक पटक पर्यटन प्रवर्धनको कार्यक्रम संचालनलाई आवश्यक कार्यविधीमा छलफल र निर्णय गर्न भनिएको भएता पनि पटक पटक सो भूगोलविद्हरुको सम्मलेन मात्र आयोजन गर्ने कार्यविधी बोर्ड व्यवस्थापनको नेतृत्वबाट पेश भएको सुन्नमा आएको थियो l विश्वास गर्न कठिन कुरा जब बोर्डको श्रोतको दुरुपयोग हुँदै संचालन भयो बोर्ड नेतृत्वबाट पर्यटन विकासको आशा नेपालको पर्यटन उद्योगले पक्कै पनि मरेको हुनु पर्दछ l तसर्थ बोर्डको मूल उद्देश्य अनुरुपका काममा मात्र समय र अर्थ खर्च गर्न संगठन हार्दिक अनुरोध गर्दछ। बोर्डका उद्देश्यबाट विमुख गरी आफ्नो स्वार्थपूर्ति गर्ने काममा लाग्ने, लाग्न अभिप्रेरित गर्ने जोकोहीका बिरुद्ध यस कर्मचारी सगठन उभिने प्रतिबद्दता व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस