aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इसेवाले ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
इसेवाले ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर’

कठमाडौं । इसेवाले पुनः डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र सार्वजनिक गरेको छ । सिम कार्ड तथा वाई–फाई मार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने इसेवाले जनाएको छ । 

यार्सा टेकसँगको सहकार्यमा बनाइएको इस्पिकर यन्त्र पूर्णतः नेपालमै बनेको यन्त्र हो । इस्पिकर एक अडियो अलर्ट यन्त्र हो । जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ । यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ । 

ग्राहक तथा व्यवसायीहरूले क्यूआर मार्फत आएको भुक्तानी पूरा भए/नभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो । कहिलेकाहिँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो । 

त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भए/नभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन। कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार–व्यवसाय संचालन गर्दा कारोबार पूरा भए÷ नभएको यकिन गर्न समेत झन्झट हुन्थ्यो । 

एफ वान् सफ्ट ग्रुप टावरमा कार्तिक १ मा भएको इस्पिकर यन्त्रको लोकार्पण समारोह इसेवा प्रालिका चिफ बिजनेस अफिसर आशिष गौतमले संचालन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर, सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए । 

१५ वर्षदेखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नेपालको डिजिटल अर्थव्यवस्थालाई सुदृढ पार्न इसेवाको मुख्य भूमिका रहेकोमा पनि उनले जोड दिए । त्यस्तै, उक्त कार्यक्रममा बोल्दै यार्सा टेकका सिइओ रहेका एन्जे सुवेदीले मात्र २ वर्षअघि खुलेको यार्सा टेकले केही समय देखि यही यन्त्रको लागि रिसर्च र विकास गर्नमा लागेको बताएका थिए ।

इसेवासँग मिलेर विभिन्न प्रयोजनका लागि यसै यन्त्रको अझै विस्तारित भर्जनहरू पनि बनाउने बताए । त्यस्तै, एफ वान् सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले इसेवा र यार्सा टेकको यस सहकार्यले देशमै प्रविधि सम्बन्धी धेरै कार्य गर्न सकिने तथा यसले उद्यमीलाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई सकारात्मक सुझाव पार्ने बताएका छन् ।

उक्त कार्यक्रममा विश्वास ढकालले नै दुई हजार पाँच सय पठाई यन्त्रले कसरी काम गर्छ भनेर उपस्थित सबैलाई नमुना देखाएका थिए । त्यस्तै, फोनपेका सिईओ दिवस सापकोटाले पूर्णतः नेपालमै बनेको यस प्रविधिले सुपथ मूल्यमै गुणस्तरीय सेवा दिएकाले यार्सा टेकलाई धन्यवाद ज्ञापन गरे । 

उनले नेपाल जसरी टेक्नोलोजी र सफ्टवेयरमा अघि बढेको छ, त्यसरी नै हार्डवेयरको मामला पनि अघि बढेको बताए । त्यस्तै इसेवाका सिईओ जगदीश खड्काले यस यन्त्रले अंक चिन्ने तथा अंग्रेजी पढ्न गाह्रो हुने साना तथा मझौला उद्यमीहरूलाई यस प्रभावकारी टेक्नोलोजीले सहयोग पुग्नेमा विश्वस्त रहेको बताएका थिए । कार्यक्रमका संचालक आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी (नेपाल) भाषामा पनि सेवा दिने जानकारी दिएका थिए । 

इस्पिकर यन्त्र बजारमा आएसँगै यसले ग्राहक तथा व्यवसायी दुवैको अनुभवलाई सजिलो र सुलभ बनाउन ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ । यसले कारोबार पूरा भएको पुष्टि गर्नका लागि व्यवसायीले घरीघरी फोन हेर्नुपर्ने वाध्यताबाट मुक्त गरिदिएको छ । इस्पिकर यन्त्रको साथले स्क्रिनसटको साटफेर, नोटीफिकेसनको पर्खाइ, खातावालाको उपस्थिति, फोन अन हुनु पर्ने वाध्यता लगाएतको झन्झटबाट व्यवसायी तथा ग्राहकलाई पनि मुक्त गरेको कम्पनीको दाबी छ । 
 

प्रतिक्रिया दिनुहोस