
काठमाडौं । मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको भारतमा उपचारको क्रममा निधन भएको छ। गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना परेका सेढाईंलाई उपचारका लागि भारतको बम्बई लगिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उनको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ। मनाङ एयरले मंगलबार निधनको पुष्टि गरेको हो।
दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो।
पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । तीन महिनाको अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस