aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विदेशी सिकारी लोभ्याउने ‘ढोरपाटन’मा नेपाली पर्यटकको समेत बढ्यो घुइँचो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ कार्तिक २०८०
विदेशी सिकारी लोभ्याउने ‘ढोरपाटन’मा नेपाली पर्यटकको समेत बढ्यो घुइँचो

काठमाडौँ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र हो, ढोरपाटन । जुन जैविक र प्राकृतिक विविधताले भरिपूर्ण छ । कुनै समय ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने चलन थियो । तर, सडक मार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्न पर्यटकसमेत आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ ।

सिकार खेल्न नेपाली त्यहाँ नजानुको कारण भने आरु केही नभएर आर्थिक क्षमता नै रहेको पाइन्छ । विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन पुग्ने लाखौँ राजस्व तिरेर सिकार खेल्ने गरेका छन् ।

एक वर्षमा सात हजार छ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । त्यसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ ।

उक्त तथ्याङ्कले ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नकै लागि मात्र विदेशी पर्यटक आउने गरेको पुष्टि गर्छ । नेपाली पर्यटक भने ढोरपाटन अवलोकनका लागि मात्र पुग्ने गरेका छन् ।

अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा भने ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा केही कमी आएको तथ्याङ्कले देखाउँछ । नेपालकै एक मात्र सिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको सन्दर्भमा आर्थिक वर्ष २०७९÷८० मा स्वदेशी र विदेशी पर्यटक गरी जम्मा सात हजार छ सय ४५ पर्यटक त्यहाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । 

उक्त पर्यटकको सङ्ख्या आव २०७८÷७९ को तुलनामा दुई हजार दुई सय २४ जनाले कमी रहेको ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७८÷७९ मा नौ हजार नौ सय १९ पर्यटक ढोरपाटन पुगेका थिए ।

ढोरपाटन घुम्न आउने पर्यटकमा कमी नभए पनि गत वर्षको जनै पूर्णिमा मेलामा ढोर बराह दर्शनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आएका कारण तथ्याङ्कमा घटेको देखिएको सो आरक्षले जनाएको छ ।

सोझै हेलिकोप्टरमार्फत विदेशी सिकारी पर्यटक मात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोरपाटनमा सिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

नाउर र झारलको वैधानिक सिकार गर्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकले ती बन्यजस्तुको सिकार गरेर मनोरञ्जन लिने गरेका छन् । मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तर गङ्गा, हरियाली र फुल फूलको फाँटले त्यहाँ पुगेका पर्यटकलाई आकर्षण गरेको पाइन्छ ।

ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको आगमन भइरहने गरेको आरक्षले जनाएको छ ।

ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आव २०७७÷७८ देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ । उक्त तथ्याङ्कमा ढोरपाटन पुग्ने स्थानीयको भने रेकर्ड हुँदैन । ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकले मात्रै शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७÷७८ देखि आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ ।

आन्तरिक पर्यटकले प्रवेश शुल्क तिर्न थालेपछि आरक्षको आम्दानीमा समेत वृद्धि भएको छ । आव २०७९÷८० मा मात्रै आन्तरिक र बाह्य पर्यटकबाट नौ लाख ८३ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । ढोरपाटन प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले एक हजार पाँच सय रुपैयाँ र अन्य विदेशी पर्यटकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान आरक्षले बनाएको छ ।

सिकार आरक्षले आव २०७९÷८० मा पर्यटक प्रवेश शुल्क, वन पैदावार, हेलिकप्टर अवतरण शुल्क र दण्ड जरिवानासहित १९ लाख ६२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सिकार आरक्षमा बि।स। २०४४ सालबाटै विदेशी पर्यटक आउन थालेका थिए तर आन्तरिक पर्यटक भने सञ्चार र सडकको पहुँचपछि मात्रै पुग्न थालेका हुन् ।

ढोरपाटनमा होटल सुविधामा समेत वृद्धि हुँदै गएको छ । विशेष गरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन् । बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ साना–ठूला होटल तथा घर वास सञ्चालनमा आएका छन् । ढोरपाटनमा पहिलो याम असोजदेखि मङ्सिर र दोस्रो याम फागुनदेखि वैशाखमा सिकार खेल्न अनुमति दिइन्छ ।
 

प्रतिक्रिया दिनुहोस