
काठमाडौं । नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । एसिएन क्वालिफायर अन्तर्गत आज मूलपानी मैदानमा युएईलाई आठ विकेटले हराउँदै नेपालले विश्वकपमा यात्रा सुनिश्चित गरेको हो ।
नेपालको जीतमा आशिफ शेखले अविजित सर्वाधिक ६३ रनको योगदान दिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले सनसनीपूर्ण फिनिसिङ गर्दै २० बलमा ३४ रन बनाए । गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन जोडे ।
टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । युएईका लागि वैरित्य अरबिन्दले ५१ बलमा सर्वाधिक ६४ रन बनाएका थिए । कप्तान मोहम्मद वासिमले २६ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
युएईको इनिङमा नेपाली बलरहरू हाबी देखिए । कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।
दोस्रोपटक विश्वकपमा
नेपाल टी-२० विश्वकपमा दोस्रोपटक छनोट भएको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित यही फर्म्याटको विश्वकपमा नेपाल छनोट भएको थियो ।
अब नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ । त्यहाँ विश्व क्रिकेटका ‘पावरहाउस’ मानिने टीमहरूसँग नेपालले प्रतिष्पर्धा गर्नेछ ।
काठमाडौंमै भएको जारी छनोट प्रतियोगिताबाटै ओमान पनि विश्वकपमा पुगिसकेको छ । कूल २० टीमले प्रतिष्पर्धा गर्ने विश्वकपका लागि नेपालमा भएको प्रतियोगिताको छनोट नतिजासँगै १८ टोलीले स्थान बनाइसकेका छन् । बाँकी २ टीम आगामी नोभेम्बर/डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट छनोट हुनेछन् ।
आगामी विश्वकपमा आयोजकद्वय वेष्ट इण्डिज र अमेरिकासँगै विश्व क्रिकेट वरियताको शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् । वरियताकै आधारमा बंगलादेश र अफगानिस्तानले पनि विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।
टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले पनि विश्वकपमा स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस