aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एमडीएमएस कार्यान्वयन :

डेढ लाख मााथिका १,५०० अवैध मोबाइलको ‘नेटवर्क लक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
डेढ लाख मााथिका १,५०० अवैध मोबाइलको ‘नेटवर्क लक’

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको करिब १२ घण्टाभित्रै १,५०० मोबाइल सेटमा नेटवर्क लक गरिदिएको छ ।

अवैध आयात नियन्त्रण गर्न प्राधिकरणले दर्ता भएका मोबाइलमा मात्रै दूरसञ्‍चार सेवा दिनेगरी सोमबार बेलुकी ९ बजेदेखि एमडीएमएस लागू गरेको हो । प्राधिकरणले पहिलो चरणमा अवैध ढंगले आयात गरिएका महँगा फोनहरूमा नेटवर्क बन्द गर्दैछ । नेटवर्क लक हुने अवैध स्मार्टफोनको संख्या हजारौं पुग्नसक्ने प्राधिकरणका अधिकारीहरूले बताएका छन्‌ ।

मंगलबार बिहानसम्म नेपाल टेलिकमको सीम प्रयोग भएका ८०० र एनसेलको सीम प्रयोग भएका ७०० मोबाइल सेटहरूमा नेटवर्क लक गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका छन्‌ ।

प्राधिकरणका अनुसार आज बेलुकीसम्म नेटवर्क लक हुने अवैध महँगा मोबाइलको संख्या दोब्बरले बढ्ने देखिएको छ । अवैध आयात भएका मोबाइल सेटको राजस्व तिरेर एमडीएमएसमा दर्ता गर्नेबारे सरकारले निर्णय गरेमा नेटवर्क लक भएका डिभाइस सञ्‍चालन गर्न दिइने प्राधिकरणले जनाएको छ ।

अवैध मोबाइललाई एमडीएमएसमा दर्ता गरी वैध बनाउन प्राधिकरणले यसअघि पटकपटक समय दिएको थियो । कात्तिक ४ गते अन्तिमपटक सूचना जारी गर्दै थप १५ दिनको समय दिएको प्राधिकरणले मंगलबार बेलुकीदेखि भने अवैध महँगा मोबाइल सेटमा नेटवर्क लक गर्न थालेको हो ।

नेटवर्क गरिएका मोबाइल फोनको मूल्य नेपाली बजारमा १ लाख ५० हजार रुपैयाँभन्दा बढी पर्छ । यस्ता मोबाइल सेटको संख्या नेपालमा १५ हजारभन्दा बढी रहेको भनिएको छ ।

हाल बजारमा रहेका अवैध मोबाइल सेट आयातकर्ताले कम्तिमा २० अर्ब रुपैयाँ राजस्व छलेको हुनसक्ने सरकारी अनुमान छ । अनाधिकृत रूपमा नेपालमा भित्र्याइएका यस्ता फोन सेट ५० लाख हाराहारीमा रहेको प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस