aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गरिने

काठमाडौं । भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई पर्यटकीय सहरका रुपमा परिचित गराउन सन् २०२४ लाई भ्रमण वर्षका रुपमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। मध्य नेपालको उत्कृष्ट गन्तव्यका रुपमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष’ अभियान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार रहेको भन्दै यो अभियान महानगरको मात्र नभइ समग्र मुलुकको रहेको बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्राकृतिक सौन्दर्यताको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न महानगरले चालेको पहल ऐतिहासिक रहेको बताए । पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धनमा देखिएका कानुनी बाधालाई समीक्षा गरी समाधानतर्फ मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो ।

“प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा रहेको नेपालका सम्भावित क्षेत्रलाई पहिचान गरी पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न खोज्नु आफैँमा सुन्दर पक्ष हो । काठमाडौं घुम्न आउने पर्यटक चितवन गन्तव्य बनाउन सक्नुपर्छ”, राज्यमन्त्री ठकुरीले भने, “एक क्षेत्रमा आएका पर्यटकलाई अन्य क्षेत्रमा आकर्षित गर्न सक्नेगरी काम गर्नुपर्छ । पर्यटन प्रवरद्धन गर्न महानगरले चालेको अभियानले भ्रमण वर्षले ऐतिहासिक र सुन्दर चित्र कोरेको छ ।”

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियान उपयुक्त समय रहेको भन्दै यस अभियानलाई सफल पार्न बोर्ड प्रतिबद्ध रहेको बताए । महानगरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले मुलुकको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धन र विस्तार गर्न थालिएको अभियान प्रभावकारी हुने बताउनुभयो । यहाँका सम्भावित स्थानको प्रसारप्रचार गरी पर्यटक भित्राउन सकिनेमा उनले जोड दिए । 

महानगरका पर्यटन विज्ञ सल्लाहकार डा विश्व सुवेदीले आर्थिक समृद्धिको लागि यस अभियान आवश्यक रहेको भन्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५२ कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए ।      

प्रतिक्रिया दिनुहोस