aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनसेल कर्मचारी युनियनले भन्यो: बहुराष्ट्रिय कम्पनी भएकाले विदेशमा कारोबार हुनु स्वभाविक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ मंसिर २०८०
एनसेल कर्मचारी युनियनले भन्यो: बहुराष्ट्रिय कम्पनी भएकाले विदेशमा कारोबार हुनु स्वभाविक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडमा आबद्ध कर्मचारीको ट्रेड युनियनले शेयर खरिद बिक्री प्रक्रियाका विषयमा कम्पनीको व्यावसायिक छविमा अनर्गल प्रचार भएको जनाएको छ। कम्पनीको सेयर खरिद बिक्रीको सामान्य प्रक्रियालाई लिएर कहिल्यै कर नतिर्ने कम्पनी सरहको भाष्य निर्माण गरिएको भन्दै युनियनले आपत्ति जनाउदै विज्ञप्ति जारी गरेको हो। शेयर खरिद बिक्रीमा कानुनको परिपालना हुनुपर्नेमा ट्रेड युनियन स्पष्ट रहेको जारी विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एनसेल एक बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक नै हो। नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधान आकर्षित हुन्छन् र सो को पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा यो ट्रेड युनियन स्पष्ट छ।’

विगतका सेयर स्वामित्व हेरफेरमा पनि अदालतबाट निर्धारण भएको कर बुझाएको पनि विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ। आधिकारिक सूचना दिन कम्पनी तयार रहेको भन्दै अनावश्यक भ्रम सिर्जना नगर्न पनि विज्ञप्तिमा उल्लेख छ। छानबिन समितिलाई दबाब सिर्जना गर्नेगरी सामाजिक सञ्जाल र मिडियामा भ्रमपूर्ण सामाग्री प्रचार भएको जिकिर विज्ञप्तिमा गरिएको छ।   

‘सेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरी सत्य तथ्य छानबिन प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी हुनु छानबिन प्रतिवेदनलाई नै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

सरकारले आयोजना गर्ने तयारी गरेको लगानी सम्मेलनलाई नै प्रभावित गर्नेगरी भ्रमपूर्ण सूचना सम्प्रेषण भएको ट्रेड युनियनको विज्ञप्तिमा उल्लेख छ। यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग समेत गरिएको छ।  

प्रतिक्रिया दिनुहोस