aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ललितपुरमा लोडसेडिङको सम्भावना बढ्यो, निर्माणधीन प्रसारणलाइनका टावर ढालिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
ललितपुरमा लोडसेडिङको सम्भावना बढ्यो, निर्माणधीन प्रसारणलाइनका टावर ढालिए

काठमाडौं, वैशाख  १९ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारणलाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । 


विद्युत्को माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए ।  

आर्थिक वर्ष २०५५/५६बाट शुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारणलाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् । काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन । 

स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारणलाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलको निरीक्षण गरेका छन् । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारणलाइन निर्माण अवस्थाको जानकारी लिएका थिए । 

उनले ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए । स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो । 

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन,’ घिसिङले भने ।‘स्थानीयले प्रसारणलाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ? प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउँदैछ ।’ 

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए । अहिले लितिपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ओभर लोडेड छ । 


ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् । 
खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै  र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नुपर्ने माग गरेका छन् ।  प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन् । 

प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ ।  काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो । 

प्रसारणलाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन । 

२८ किलोमिटर प्रसारणलाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष २०६६/६७ मा ठेक्का तोडेको थियो ।
 

प्रतिक्रिया दिनुहोस