काठमाडाैं । बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान नेपाल एयरलाइन्सले रद्द गरेको छ। थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानकारी गराएका छन्।
मलेसियाको स्थानीय समयअनुसार बिहान ६:१५ बजे उडान तोकिएको थियो। तर यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन्।
एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ। आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो।
थोरै यात्रु भएको भन्दै उडान रद्द गरेको एयरलाइन्सले २९ जना यात्रुलाई त्यहाँको होटलमा राखेको छ। यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ। काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस