काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पोखरा रंगशाला ७/८ महिनामै पोखरा रंगशाला निर्माण काम सम्पन्न गर्ने बताएका छन् ।उनले भने,‘मंसिर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ । दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदैछ । सातदोबाटोमा पनि सम्पन्न हुँदैछ । तेक्वान्दो, कराँते र लङ टेनिशलगायतका नयाँ पूर्वाधारपनि सातदोबाटोमा निर्माण गरेका छौं ।’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने मसेत स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाए । उनले भने,‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाए ।
साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चूनौति र जोखिमहरुको सामना गरेर अघि बढेको उनले सुनाए । उनले भने,‘म हिरोईज्ममा विश्वास गर्दिन् । काममा विश्वास गर्ने मान्छे हुँ । खुरु खुरु काम गरिरहेको छु ।’ कतिपयले अहिले धमाधम भौतिक पूर्वाधार निर्माणमा जुटेको देख्दा ‘जब राति तब बुढी ताती’ भनेर पनि टिप्पणी गर्ने गरेको सुनाउँदै उनले साग मुखमै आईसकेकोले यसको लागि आफूहरुले रातोदिन काम गरेको स्पष्ट पारे । उनले थपे,‘हिजो राति त मैले झिमिक्क आँखा पनि झिम्क्याएको छैन् । दशरथ रंगशालामा भिआईपी छानो हाल्ने काम थियो । त्यो काम राति नै गर्नुपरेकोले हिजो रातभरि काम गरियो ।’
मन्त्री विश्वकर्माले रातदिन काम गर्नु के अपराध हो ? भन्दै प्रश्न गरे । उनले मंसिर १५ गतेको साग गेमको मिति तलमाथि नहुने दाबी दोहोर्याए । उनले भने,‘मैले स्यावासी र प्रशंसा खोजेको होईन् ।’ उनले दशरथ रंगशालाको प्याफिट मंसिर पहिलो हप्ताभित्रै सम्पन्न भैसक्ने स्पष्ट पारे । उनले भने,‘परिस्थिति हाम्रो काबुमा छ । पूर्वाधारको कुनै समस्या छैन् । अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ ।’
सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको पनि उनले सुनाए । त्यस्तै, सागकोलागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले जनाए । उनले दक्षिण एसियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बैठक बसेको पनि बताए । उनकाअनुसार उक्त बैठकमा सातवटै देशका ओलम्पिक कमिटीका अध्यक्षको सहभागिता रहेको थियो । १३ औँ सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछ ।
मन्त्री विश्वकर्माले हिटिङ र स्विमिङ पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेकोले कुनै समस्या नहुने दाबी गरे । आफूहरुले थोरैभन्दा थोरै लगानीमा धेरै उपलब्धि हाँसिल गर्नेगरि काम गरिरहेको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस