aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बंगलादेशले ऊर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
बंगलादेशले ऊर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने

काठमाडाैं । बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट विद्युत् खरिद गर्ने लक्ष्यसहित सरकारी तथा निजीस्तरमा समेत संयुक्त लगानी प्रस्ताव गरेको छ । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बंगलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ ।

भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् बंगलादेशसम्म  पुर्याउने उसको सोच छ । पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा विश्व समुदायलाई आफ्नो पहिचान दिन सफल बंगलादेशले नेपालको विद्युतबाट थप आर्थिक उपार्जन गर्ने लक्ष्य राखेको छ । 

दुई देशबीच ऊर्जा क्षेत्रमा साझा सहकार्य गर्ने द्धिपक्षीय संयन्त्र क्रियाशील छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रका लगानीका लागि द्धिपक्षीय संयन्त्रमार्फत आफ्ना गतिविधि अगाडि बढाइरहेको छ । मन्त्री वर्षमान पुनले २०७५ भदौमा बंगलादेशको भ्रमण गरेपछि दुई देशबीच ऊर्जा सहकार्यमा मार्गप्रशस्त भएको हो । 

गत असोज २६ र २७ गते भारतको बैंगलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, बंगलादेश र भारतबीच ऊर्जा आदानप्रदानका लागि त्रिदेशीय संयुक्त बैठक आयोजना गर्ने सहमति भएको थियो । सो सहमतिले नेपालको विद्युत भारतको भूमि वा संयन्त्र प्रयोग गरेर बंगलादेश पुर्याउन मार्गप्रशस्त गरेको छ ।

गएको भदौमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणका गएको बेला दुई मुलुकबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो। त्यही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो।

उर्जा संयन्त्रको बैठकमा बंगलादेशले नेपालको जलविद्युत र नेपालले बंगलादेशबाट खाना पकाउने ग्याँस खरिद गर्ने मोडालिटीका विषयमा पनि छलफल भएको थियाे ।

त्रिपक्षीय बैठक ३ महिनाभित्र आयोजना गर्ने सहमति भएकाले बैठकपछि थप आधारहरु तयार हुनेछन् । दुई देशबीचको ऊर्जा संयन्त्रको बैठक नियमित बसिरहेको र ऊर्जा सहकार्यको क्षेत्रमा बंगलादेशको अनुभव नेपालले अनुसरण गर्नेतर्फ काम भइरहेको मन्त्रालयको भनार्इ छ । 

भारतबाट विद्युत लगिरहेको बंगलादेशले सोही प्रसारण प्रणाली उपयोग गर्ने वा अन्य कुनै संरचना बनाउने भन्ने बारेमा आपसी समझदारीका आधारमा निर्णय हुने जनाइएको छ । नेपाल र बंगलादेशबीच २०७५ साउन २५ मा ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त हस्ताक्षरमा मन्त्री पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।

मन्त्री पुनका अनुसार सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा बंगलादेशसँगको ऊर्जा सहकार्य पनि एउटा महत्वपूर्ण कडी हो । २ देशबीचको समझदारीअनुसार उसले तत्काल नै नेपालबाट ५०० मेगावाट विद्युत खरीदका लागिसमेत तयार देखिएको छ । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट विद्युत खरिद गर्न बंगलादेश यसअघि नै तयार भएको थियो ।

भारतीय कम्पनी जिएमआरले निकट भविष्यमै बंगलादेशसँग विद्युत खरिद सम्झौता हुने जनाएको छ ।नेपालको विद्युत् क्षेत्रीय बजारमा लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ । बंगलादेश सरकार आफ्ना जनताको सपना पूरा गर्ने र ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यसाथ ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालसँग हात बढाएको स्पष्ट पार्दै आएको छ । 

ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षरपछि तत्कालीन बंगलादेशी राज्यमन्त्री हमिदले दिएको वक्तव्य आज पनि उत्तिकै सान्दर्भिक छ । उनले नेपालमा जलस्रोतको अपार सम्भावना भएकाले २ देशका सरकारी वा निजी क्षेत्रले मिलेर काम गर्ने उल्लेख गरेका थिए । 

प्रतिक्रिया दिनुहोस