
काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० मा पर्यटकलाई आकर्षित गरी औसत नेपाल बसाइँ लम्ब्याउने विषय सरोकारवालाबीच चर्चा र बहस भइरहेको छ । अहिले पर्यटकहरुको औसत नेपाल बसाइँ एक साताभन्दा थोरै बढी रहेको छ ।
पर्यटकको बसाइँ लम्ब्याउने र उनीको औसत खर्च वृद्धि नगरेसम्म पर्यटन क्षेत्रको विकास र यसबाट राजस्व वृद्धि हुन नसक्ने सरोकारवालाहरुको जोड छ । उनीहरुले पर्यटकको संख्यासँगै उनीहरुको बसाइँ र खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् ।सन् २०१७ मा प्रतिदिन ५४ डलर खर्च गरेका पर्यटकले २०१८ मा आउँदा प्रतिदिन ४४ डलरमा झरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । त्यस्तै पर्यटककौ औसत नेपाल बसाइँ अवधि गत वर्ष १२.६ दिन थियो भने यो वर्ष १२.४ दिनमात्रै रहेको छ ।
पर्यटकको नेपाल बसाइँ र खर्चको दर घट्दै जाँदा सरकारले महत्वकांक्षी लक्ष्यसहित आयोजना गरेको नेपाल भ्रमण वर्ष सफल होला त भन्ने प्रश्न गम्भीर रहेको यस क्षेत्रका सरोकारवालाहरुको भनाइ छ । नेपाल भ्रमणको लागि धेरै पर्यटक भारत र चीनबाट आउने गरेका छन् । यो वर्ष नेपाल भ्रमणका लागि ११ हजार ६ सय भारतीय आएका छन भने १३ हजार ४४ सय ७९ जना चिनियाँ नेपाल भ्रमणको लागि आएका छन् ।
यो वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक २ हजारले बढेको पर्यटन बार्डले जनाएको छ । सन् २०१९ को अक्टोबरसम्म नेपालमा पर्यटक आवागमनको संख्या ८ प्रतिशतले वृद्धि भएको छ । पर्यटन बोर्डका अनुसार सन् २०१९ को अन्त्यमसम्म १० प्रतिशतले पर्यटक बढ्ने अनुमान गरिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सन् २०१८ मा ३० प्रतिशत र २०१९ मा ३० प्रतिशत पर्यटक बढेको भए २०२० मा २० लाख पर्यटक नेपाल भित्रिने निश्चित थियो ।
प्रतिक्रिया दिनुहोस