aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कर्णाली र प्रदेश ७ मा अप्टिकल फाइबर बिच्छ्याउने जिम्मा टेलिकमलाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
कर्णाली र प्रदेश ७ मा अप्टिकल फाइबर बिच्छ्याउने जिम्मा टेलिकमलाइ

काठमाडौं । प्रदेश ६ र ७ स्थित मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले जिम्मा पाएको छ । नेपाल दूरसञ्चार प्रधिरकणले स्मार्ट टेलिकमबाट हुन नसकेको काम नेपाल टेलिकमलाई जिम्मा लगाएको हो ।

मन्त्रिपरिषद बैठकले टेलिकममार्फत परियोजना अघि बढाउन स्वीकृति दिएपछि यो निर्णय भएको टेलिकमका प्रवक्ता मीनप्रसाद आर्यालले बताए ।

‘अब एक हप्ताभित्र टेलिकमसँग प्रक्रिया अघि बढाउनका लागि सम्झौता हुन्छ,’ उनले भने, ‘नेपाल टेलिकमले रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने काम गर्नेछ ।’

यसअघि दूरसञ्चार प्राधिरकणले सम्झौताको २ वर्षभित्र काम सकाउने गरी स्मार्ट टेलिकमलाई ३ अर्ब ९४ लाख रुपैयाँ परियोजना जिम्मा लगाएको थियो । तर, काम निकै सुस्त भएपछि ठेक्का नै खोसिएको थियो ।

स्मार्टबाट परियोजनाको लागि मोबलिाइजेसन बापत लिएको ६० करोड बराबरको बैंक जमानत र १५ करोडको कार्यसम्पादन जमानत पनि जफत भएको थियो ।

अब टेलिकमले नयाँ प्रक्रियाबाट सो क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन सुरु गर्नेछ । यो परियोजनामार्फत करिब २ हजार ५ सय किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइनेछ ।

प्रदेश नम्बर ५ का बाँके, बर्दिया, ६ र ७ का सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर बिछ्याइनेछ ।

सरकारको डिजिटाइजेसन अभियान अन्तर्गत प्रदेश नम्बर ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउने काम गत वर्षको माघबाट मात्रै सुरु भएको थियो । एक वर्षभित्र काम सकाउने भनिए पनि २० किलोमिटर पनि काम भएको छैन । १९ जिल्लाका प्रमुख राजमार्ग र सदरमुकाममा फाइबर पुर्‍याउन यो परियोजना लागू गरिएको हो ।

अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउँछ । प्राधिकरणले मध्यपहाडी पुरै लोकमार्गमा फाइबर बिछ्याउने योजना अन्तर्गत झण्डै १० अर्ब रकम खर्च गर्दैछ ।

प्रतिक्रिया दिनुहोस