aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

टेलिकमको ४ जी सेवा 'अपग्रेड' हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
टेलिकमको ४ जी सेवा 'अपग्रेड' हुने

काठमाडौं । नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गर्ने टेलिकमले जनाएको छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको कम्पनीले जनाएको छ ।  

हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी÷थ्रीजीबाट फोरजीमा स्तरोन्नति समेत गरिएको कम्पनीको दावी छ । कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो । 

यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको छ । पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।  

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाइने छ । साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउँछ । कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको समेत कम्पनीले दावी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस