aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ ।

एक करोड जरिवाना उठाउनै बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ मंसिर २०७५
एक करोड जरिवाना उठाउनै बाँकी

सोलुखुम्बु, मङ्सिर ३ । सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित रु एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा रु १८ लाख ४० हजार १६० सङ्कलन भएको जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएको जरिवाना रकम रु एक करोड २० लाख १४ हजार ११२ रहेकामा र चालू वर्षको नयाँ लगत रु १० लाख ९० हजार ५६० रहेको उक्त अदालतले जनाएको छ ।

यता कैद भुक्तान गर्नुपर्ने समय पनि जिल्ला अदालतमा चालू वर्षको कात्तिक मसान्तसम्मको जम्मा ५४४ वर्ष नौ महीना १८ दिन छ । यो आवमा १७५ वर्ष कैद फछ्र्योट गर्ने लक्ष लिइएको छ । यस वर्ष कात्तिक महीनासम्मको नयाँ लगत ८५ वर्ष पुगेको छ । अघिल्लो वर्ष जिम्मेवारी सरी आएको ५२८ वर्ष कैद रहेको अदालतले जनाएको छ ।

त्यस्तै जिल्ला अदालतबाट दण्ड जरिवाना लागेका र रकम असुल हुन बाँकी व्यक्ति तथा संस्थाको सङ्ख्या १७९ पुगेको छ । यसमा कैद सजाय मात्र गरिएका ६०, जरिवाना मात्र लागेका ६४ र दुवै सजाय भएका ५० व्यक्ति तथा संस्था रहेका न्यायाधीश सुवेदीले बताउनुभयो ।उहाँले भन्नुभयो, “अदालतको यो तथ्याङ्क हेर्दा जिल्लामा दण्डहीनता बढ्दै गएको पाइन्छ । यति सानो जिल्लामा यत्रो जरिवाना रकम नै सङ्कलन गर्न बाँकी छ । दण्डहीनता अन्त्य गर्नाका लागि सबै पक्ष लाग्न जरुरी छ । ”

प्रतिक्रिया दिनुहोस