aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

फानी आँधीबाट भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु

  • एएफपी
    एएफपी
  • आइतबार, २२ बैशाख २०७६
फानी आँधीबाट भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु

नयाँदिल्ली । भारत र बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ । 

आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको उडिसाबाट शुक्रबार शुरु भएको यस आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो । तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन् । उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकहरुको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिनुभयो । 

आँधीका कारण भारतको उडिसामा १२ लाख र बङ्गलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र सो बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको एएफपी समाचार समितिले जानकारी दिएको छ । 

छ जनाको रुख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य छ जनाको चट्याङका कारण मृत्यु भएको बङ्गलादेशी विपद व्यवस्थापन अधिकारी बेनजिर अहमदले बताउनुभयो । 

बङ्गलादेशी अधिकारीले फानीका कारण घरमा क्षति पुगेको, रुख ढलेका, विद्युत सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाइ सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीले दशौँ हजार मानिसलाई सुरक्षितस्थलमा पु¥याएका छन् ।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बङ्गलादेशमा ताण्डब मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस