काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।
निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करीब छ खर्ब ३० अर्ब रुपैयाँ रकम सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत परिचालित हुने रकमको वित्तीय आँकलन गरेको छ । सोहीअनुसारको वित्तीय खाका बैठकमा प्रस्तुत गरिएको थियो ।
उल्लेखित वित्तीय आँकलन तथा खाकाका आधारमा प्राधिकरणको पुनःनिर्माणसम्बन्धी समग्र कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बतए । बैठकमा प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई प्रभावकारीरुपमा अघि बढाई पीडितलाई चाँडोभन्दा चाँडो छानामुनि ल्याउन निर्देशन दिए ।
प्राधिकरणको कार्यकाल अब २० महिना बाँकी छ । सो अवधिमा पुनर्निर्माणका मूलभूत कार्यहरु सक्नेछौं । तर राज्यको बजेटको सीमालाई विशेष ध्यानमा राखेर हामीले समग्र पुनर्निर्माण तथा पुनर्स्थापना कार्यका लागि बजेट प्रस्ताव पेश गरेका छौुं(प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।
प्राधिकरण समयावधि बढाउने पक्षमा नरहेको स्पष्ट पार्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राविधिक कारणले केही काम बाँकी रहे सरकारका सम्बन्धित निकायहरुलाई वा अब गठन हुने राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्न सकिने बताए ।
प्राधिकरणद्वारा प्रस्तुत विस्तृत कार्ययोजनामा निजी आवास, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका कार्यहर सम्पन्न गर्नुका साथै स्थानीय सरकारलाई पुनर्निर्माण कार्यमा संलग्न गराउँदै विपद व्यवस्थापन क्षेत्रमा सक्षम बनाउने, काठमाडौं उपत्यका लगायत भूकम्प प्रभावित क्षेत्रभित्र रहेका विश्व सम्पदा क्षेत्र एवं परम्परागत बस्तीहरुको पुनर्निर्माण तथा संरक्षण गर्ने छन् ।
यस्तै भूकम्प प्रभावित क्षेत्रमा आर्थिक तथा सामाजिक पुनरस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्ने, प्राधिकरणको पहलमा कम्तिमा ७५ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न गर्ने तथा जोखिमयुक्त बस्तीहरुको संरक्षण गर्ने लगायतका योजनाहरुलाई समेटिएको छ ।
बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण तथा पुनर्स्थापनामा हालसम्म भएका उपलब्धीहरु पेश गर्नु भएको थियो । जसमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवासतर्फ ८१ प्रतिशत, विद्यालयतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनतर्फ ५६ प्रतिशत र सरकारी भवनतर्फ ९८ प्रतिशत प्रगति हासिल भएको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पछिल्लो चरणमा द्रुत गतिमा पुनर्निर्माणका काम भइरहेकाले बाँकी संरचनाहरुको पुनर्निर्माण कार्य एकपछि अर्को गरि सम्पन्न हुँदै जाने बताए ।
प्रतिक्रिया दिनुहोस