aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार

  • रासस
    रासस
  • मंगलबार, १७ मंसिर २०७६
बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार

बुटवल । नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । 

लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको  छलफल एवं अन्तक्र्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा सहभागीले लुम्बिनी र बुद्धकालीन सभ्यताका नेपालका सबै क्षेत्र तथा प्रमुख हिन्दू धर्मका क्षेत्रलाई जोडेर तयार पारिएको बृहत् परिपथ नै पर्यटन विकासको खास आधार हुने बताउँदै लुम्बिनीको गुरुयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा उद्योगमन्त्री लीला गिरीले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर समग्र परिपथको विकास गर्न प्रदेश सरकारले योजनाबद्ध कामको थालनी गरिसकेको जानकारी दिँदै त्यसलाई अझ प्रभावकारी बनाउन निजी क्षेत्र र सरोकार पक्षसँग सहकार्य गरिने बताए । उनले भने, “लुम्बिनी र गौतम बुद्धसँग सम्बन्धित तराईका जिल्लाका सबै स्थान, रुपन्देहीको रोहिणी नदी, त्यसको बुद्धकालीन सभ्यता  र बुद्धबल्लीको बुटवल सभ्यतालाई समेत समावेश गर्न सुझाव दिइसकिएको छ ।” 

मन्त्री गिरीले लुम्बिनी आउने स्वदेशी र विदेशी पर्यटकका लागि हवाई टिकटमा एकरुपता ल्याउनु आवश्यक रहेको बताए । उनले रोहिणी नदीको गौतमबुद्धसँग ठूलो महत्व रहे पनि त्यसको अस्तित्व हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै लुम्बिनीसँगै देवदह, रामग्राम, तिलौराकोटलगायत बौद्धस्थलको पनि समुचित विकास गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रदेशसभा सदस्य फकरुद्दिन खाँले लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारलाई जिम्मा दिनुपर्ने बताए । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष  भिक्षु मैत्तेयले भने ‘लुम्बिनीको गुरुयोजना सकाउन अन्तरराष्ट्रियस्तरसँगै जान आवश्यक छ ।’ 

लुम्बिनीमा विश्वस्तरको ध्यान कार्यक्रम गर्ने तयारी गरिरहनुभएका स्वामी आनन्द अरुणले बुद्धजयन्तीलाई ध्यान दिवसका रूपमा मनाउनुपर्ने सुझाव दिए  । गैंडहवा गाउँपालिका प्रमुख बच्चु केवटलगायतले पर्यटन विकासका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस