aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चार एटीआर भित्र्याउँदै सीता एयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
चार एटीआर भित्र्याउँदै सीता एयर

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने गरी आन्तरिक उडानमा ठूला जहाज ल्याउने भएको छ। यो वायुसेवाले सुगम क्षेत्रका विमानस्थलमा उडान गर्न एटीआर ७२ नामक ७२ सिट क्षमताका जहाज ल्याउने लागेको हो।

सीता एयरले चार वटा जहाज ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ। सोही अनुमतिअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले जानकारी दिए।

उनका अनुसार हाल डोर्नियर डीओ २२८ नामक चार वटा जहाज यो कम्पनीसँग छ। दुईवटा डोर्नियरबाट उडान गरिरहेको यो वायुसेवाले एक वर्ष अगाडि सिम्रिकका दुईवटा सोही प्रकृतिका जहाज थप गरेको हो। दुर्गम पहाडी क्षेत्रका विमानस्थलमा सेवा दिइरहेको यो वायुसेवाले उडान क्षमता बढाउन र उडान बजारको दायरा विस्तार गर्न एटीआरमा जाने निर्णय गरेको हो। ‘विदेशी पर्यटक भित्रिने र आन्तरिक गतिविधि पनि बढेकाले अबको बजार एटीआरकै भएकाले हामीले पनि सोहीअनुसार योजना बनाएको हौं’, आचार्यले मंगलबार अन्नपूर्णसँग भने।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर पर्यटन क्षेत्रको प्रवद्र्धन गरिरहेको छ। यो सँगै नेपालमा आन्तरिक वायुसेवाको प्रयोग पनि बढिरहेको छ। आन्तरिक उडानका विभिन्न गन्तव्यमा जाने यात्रुको सेवालाई दृष्टिगत गरेर यो वायुसेवाले आफ्नो उडान क्षमता बढाउन लागेको जानकारी दिएको छ।

सीताले सन् २०२० को जुलाईभित्र जहाज भित्र्याउने गरी आवश्यक तयारी गरिरहेको छ। सो समयभित्र एटीआर भित्र्याउन र नियमित उडान गर्ने गरी आन्तरिक गृहकार्य पनि गरिरहेको छ। यो वायुसेवाले अहिलेको बजारमा देखिएको अवसर तथा उड्डयन क्षेत्रको भविष्य टिकाउन पनि दायरा फराकिलो बनाउन थालेको उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस