
काठमाडौं । यो वर्ष शुरु भएको पनि साढे ७ महिना बितिसकेको छ । तर, शेयर बजार भने नयाँ वर्षको शुरुमा भन्दा घटेको छ, बढ्ने सुरसार देखिएको छैन । यो वर्ष पनि लगानीकर्ताका लागि गत वर्षजस्तै निराश बनाउने सम्भावना देखिएको छ । वर्ष २०७६ को शुरुमा ११८८.७१ बिन्दुमा रहेको नेप्से मंगलबार १११५.७४ बिन्दुमा आइपुगेको छ । साढे सात महिनाको अवधिमा नेप्से करिब ७० अंकले घटेको छ । पछिल्लो समय शेयर बजारमा चलहपहल कम हुँदै गएको छ ।
शेयर धितोमा राखेर लिइने चर्को ब्याजदर आकाशिएका कारण शेयर बजार मापक नेप्से परिसूचक ११ अंकको दूरी पार गर्न कठिन भएको छ । लगानीयोग्य रकम अभाव भन्दै ८–९ प्रतिशत ब्याजमा पाइने शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेपछि लगानीकर्ता क्रसित बन्न पुगेका छन् । चर्को ब्याजदरमा लिइएको शेयर धितो कर्जा अझै घट्ने संकेत देखिएको छैन । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घट्ने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशा गरेका थिए । तर, त्यो आशा निराशामा परिणत हुन पुगेको छ । यसले गर्दा पनि शेयर बजार सोचे जति बढ्न नसकेको शेयर विश्लेषको भनाइ छ ।
पछिल्लो समय निरन्तर ओरालो लाग्दै गएको छ । नयाँ वर्ष शुरुवातदेखि नै शेयर बजार मापक नेप्से उकालो लाग्न सकेको छैन । ब्याजदर नघट्नु नै शेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण हो । बेलाबेलामा अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्ति पनि शेयर बजार बढ्न नसक्नुको अर्को कारण हो । बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमास मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । गत आर्थिक वर्षको लाभांश पनि धमाधम वितरण गरिरहेका छन् । तर, पनि बजार बढने छाँटकाँट नदेखिएको बिज्ञहरुको भनाइ छ । ब्याजदरको दरिलो टेको नेप्सेमा लगाउन नसक्दा शेयर बजार बढ्न नसकेको उनीहरुको विश्लेषण छ ।
बजारप्रति सकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय नकारात्मक धारणा बनाउन पुगेका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा गरेका थिए । तर, त्यो समस्या झन पहाड बनेर उभिएको छ । चालू आर्थिक वर्षको शुरु देखिनै पुँजीगत खर्च बढ्ने र त्यो रकम बैंकिङ प्रणालीमा आउने अनि तरलताको अभाव हट्ने अनुमान गरिएको थियो । तरलताको अभाव अन्त्य भएमा शेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएको थियो ।
उद्योग व्यवसायीले जस्तै लगानीकर्ताहरुले शेयर धितोकर्जा एकल अंकमा ल्याउन माग गर्दै आएको छन् । शेयर कर्जा १० प्रतिशतको हाराहारीमा आउने हो भने पनि शेयर बजार बुलिस टेनमा जाने ब्रोकरहरु बताउँछन् ।
चालू आर्थिक वर्ष शुरु भएदेखि नै बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव खेपिरहेका छन् । त्यसकै प्रभावका कारण शेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो ।
२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आएको छ । नेप्से १११६ अंकबाट माथि उक्लन सकेको छैन । राष्ट्र बैंकले सरकारी ढुकुटीमा रहेको रकम खर्च हुँदै जाने र यसले कर्जाको ब्याजदर घट्ने बताउँदै आए पनि लगानीयोग्य रकमको अभाव अझै कायमै छ । राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरे पनि बैंकले ल्याउन सकिरहेका छैनन् । विदेशी बैंकबाट लिने कर्जाले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएको भए पनि त्यो आकाशको फल आखाँतरी मर जस्तै भएको छ ।
प्रतिक्रिया दिनुहोस