
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेलगत्तै सडकका खाल्डाखुल्डी पुर्न र त्यसका निम्ति वातावरण तयार गर्न निर्देशन दिएपछि सडक मर्मतको तयारी तीव्रताका साथ अगाडि बढेको छ । यसैक्रममा सडक विभागअन्तर्गतका करिब ९ हजार किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी तीन महिनाभित्र पुरिसक्ने विभागकोे लक्ष्य रहेको छ । उपत्यका र राष्ट्रिय राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्न र टालटुल गर्न विभागले १ अर्ब रुपैयाँ बजेट छुट््याएको विभागका सूचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।
मंसिर अन्तिम साताबाट शुरु गरी माघ अन्तिमसम्ममा उपत्यका र प्रमुख राष्ट्रिय राजमार्गका सडक मर्मत गर्ने तयारी भइरहेको सुवालले बताए । विभागले प्रत्येक डिभिजन कार्यालयसँग सडकको अवस्था र खाल्डाखुल्डीको स्थितिको विवरण माग गर्दै मंसिरभित्र विवरण पठाइसक्न निर्देशन दिएको छ ।
चालू आवको प्रथम चौमासिक स्थिति
सडक विभागअन्तर्गत रहेका सडकमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनासम्ममा ५८ किलोमिटर नयाँ ट्रयाक निर्माण, २८८ किलोमिटर सडक खण्डास्मित र २७७ किलोमिटर सडक कालोपत्रे र स्तरोन्नती भएको विभागले जनाएको छ । चालू आवमा कुल ३०० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा स्थानीय सडक पुलअन्तर्गत २३ वटा र रणनीतिक महत्वका सडकअन्तर्गत १२ पुल गरी जम्मा ३५ वटा पुलको निर्माण सम्पन्न भएको छ ।
करिब ७ हजार २ सय किलोमिटर सडकको नियमित तथा ७ हजार २ सय किलोमिटर पटके मर्मत संभार निरन्तरता र ५२४ किलोमिटर अद्यावधिक मर्मत गर्ने लक्ष्य रहेकोमा हालसम्म ६४ किलोमिटर सडकको अद्यावधिक मर्मत कार्य सम्पन्न भएको सुवालले जानकारी दिए ।
विभागको बजेट पुँजीगततर्फ १ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये प्रथम चौमास कार्तिक अन्तिमसम्मको पुँजीगततर्फको विनियोजित बजेट २७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ । उक्त रकममध्ये कार्तिकसम्म ८ अर्ब ६८ करोड ८४ लाख बजेट खर्च भएको विभागले जनाएको छ । प्रथम चौमासमा वित्तीय प्रगति ३१.१९ प्रतिशत रहेको छ ।
विभागको वार्षिक लक्ष्य
सडक विभागले एक वर्षमा १ हजार २ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये प्रथम चौमासिकमा ३१६ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म २७७ किलोमिटर सडक कालोपत्रे भएको सुवालले बताए । विभागले एक वर्षमा ग्राबेल सडक पनि १ हजार २ सय किलोमिटर ग्राबेल गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये प्रथम चौमासमा ३५८ सडकमा ग्राबेल गर्ने लक्ष्य लिएको मध्ये हालसम्म २८८ किलोमिटर सडकमा ग्राबेल गरिएको छ ।
त्यस्तै विभागले एक वर्षमा ५०० किलोमिटर कच्ची सडक निर्माण गर्ने भएको छ । त्यसमध्ये प्रथम चौमासमा १०१ किलोमिटर निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म ५८ किलोमिटर सडक निर्माण भएको विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस