aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
विकास निर्माणको सुस्त गति

मध्यपहाडी लोकमार्गमा ४१ अर्ब खर्च हुँदा ४२ प्रतिशत काम

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • विहीबार, १९ मंसिर २०७६
मध्यपहाडी लोकमार्गमा ४१ अर्ब खर्च हुँदा ४२ प्रतिशत काम

काठमाडौं । बहुचर्चित मध्यपहाडी लोकमार्गको ४२ प्रतिशत काम सम्पन्न भएको छ ।  यो राजमार्गले पूर्व–पश्चिम महेन्द्र राजमार्गको समानान्तर राजमार्गको रुपमा मध्यपहाडी क्षेत्र हुँदै मेची–महाकालीलाई एउटै सञ्जालमा जोड्ने छ । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो आयोजनालाई पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ । अहिले पूर्व–पश्चिम लोकमार्गको १८७९ किलोमिटर सडकमा काम भइरहेको छ । निकै द्रुत गतिमा काम भएको भनिएको यो आयोजनामा सडक निर्माणको काम मध्ये हालसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । 

त्यसैगरी ४१ प्रतिशत वित्तीय प्रगति भएको सडक विभागको तथ्यांकले जनाएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण कार्य आथिर्कक वर्ष २०६४/०६५ मा शुरू भई २०७९/०८० सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ । तर, हालसम्मको कार्य प्रगति हेर्दा यो सडक निर्माणको काम तोकिएको समयमा नसकिने पक्का छ । यो आयोजनाको कुल लागत १ खर्ब १ अर्ब ५० करोड रहेको छ । सडक विभागका सूचना अधिकारी अर्जुन सुवालका अनुसार हालसम्म ४१ अर्ब १९ करोड बजेट खर्च भइसकेको छ । 

सडक विभागका अनुसार कुल १८७९ लम्बाईमध्ये ३६४  किलोमिटर आयोजनाबाट, ४६२ किलोकिटर अन्य निकायबाट गरी  करिब ८२६ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । उक्त आयोजनाको ४४९ किलोमिटर सडक खरिद र ३५० किलोमिटर सडक स्तरोन्नति गर्नको लागि सहमतिको माग गरिएको विभागले जनाएको छ ।
 
यो लोकमार्गमा निर्माण गर्नुपर्ने कुल १२९ पुलमध्ये ७० वटा पुलको निर्माण कार्य  सम्पन्न भइसकेको सडक विभागले जनाएको छ । 

 चालू आवको स्थिति 
पुष्पलाल मध्यपहाडी लोकमार्गको प्रथम चौमासिकमा भौतिक प्रगति २२.५  प्रतिशत रहेको सडक विभागले बताएको छ । यो अवधिमा वित्तीय प्रगति १०.६२ प्रतिशत मात्रै रहेको जनाइएको छ । प्रथम चौमाससम्ममा ३५० किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य रहेको थियो । यो अवधिमा ३९०  िकिलोमिटर ग्राभेल र १६ वटा पुल निर्माण गरिसक्ने लक्ष्य लिएको विभागले लिएकोमा हालसम्म २०.५ प्रतिशत कालोपत्रे, ६९ किलोमिटर ग्रोभेल र २ वटा पुल निर्माणको काम सम्पन्न गरेको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले बताए । 
 

प्रतिक्रिया दिनुहोस