काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण गर्ने ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल र भारतबीचको विद्युत् व्यापारलाई सहजीकरण गर्न धनुषामा निर्माणाधीन यो सबस्टेसन सन् २०२० को जनवरीबाट सञ्चालनमा आउने भएको छ।
डिसेम्बर भित्र निर्माण सम्पन्न गरी जनावरीबाटै सञ्चालन (चार्ज) गर्ने गरी आधुनिक प्रविधियुक्त यो सबस्टेसनको निर्माण कार्य करिब अन्तिममा पुगिसकेको छ। पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका गर्न यो ढल्कबेर सबस्टेसन हब हुने दाबी नेपाल विद्युत् प्राधिकरणको छ।
सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातको पूर्वाधार तयार हुनेछ। यसबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ। यसबाट प्रवाह हुने बिजुली मुलुकभित्र खपत हुन नसकेको भारत निर्यात गर्न सकिने गरी तयार हुँदै गरेको पूर्वाधार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ। वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिन्छ’, घिसिङले भने। ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्न समेत बाटो खुल्ने छ।’ दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।
ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ। ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुनेछ।
माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइनेछ। यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ। खिम्ती–ढल्केबर प्रसारण लाइन सञ्चालनमा आइसकेको छ।
सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने तीनवटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ। बाँकी दुईवटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिनेछ। यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ। अन्य उपकरण निर्माणस्थलमा आइसकेका छन्। उपकरणको जडान धमाधम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस