aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ग्लोबल आइएमई मुलुककै ठूलो बैंक, सबा दुई खर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
ग्लोबल आइएमई मुलुककै ठूलो बैंक, सबा दुई खर्ब निक्षेप

काठमाडौं । जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ। अन्य कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन।

जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको हो। नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार यी दुई बैंकले मर्ज भई ग्लोबल आइएई नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। चालु आव ०७६/७७ को बजेटबाट सरकारले वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहित गरेपछि यी दुई वाणिज्य बैंक मर्ज भएका हुन्। ग्लोबलले अहिलेसम्म तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी मर्ज तथा प्राप्ति गरेको छ।

बैंक मर्ज भएर ठूलो हुँदा सेयर धनी, निक्षेपकर्ता, नियमनकारी निकाय र समग्र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बैंकर बताउँछन्। ठूलो बैंक हुँदा लगानीकर्ता, बचतकर्ता र नियमनकारी निकायलाई फाइदा पुगेको पूर्वबैंकर शशिन जोशी बताउँछन्। अब ग्लोबल लगानीकर्ताका लागि पहिलाभन्दा धेरै मुनाफा दिन सक्षम हुने जोशीको धारणा छ। ‘बैंकको ठूलो जोखिम व्यवस्थापन गर्ने क्षमता बढ्छ,’ उनले भने, ‘यसले प्रतिफल बढाउँछ।’ धेरै बैंकलाई नियमन गर्नभन्दा मजबुत बैंकको नियमन गर्न राष्ट्र बैंकलाई पनि सहज हुने उनले बताए। बैंक मर्ज हुँदा प्रशासनिक खर्च कम हुने र पुँजी ठूलो हुँदा लगानीको दायरा फराकिलो पार्न सहज हुन्छ। अहिलेसम्म ठूला परियोजनामा धेरै बैंक मिलेर लगानी गर्नुपर्ने अवस्था थियो। पुँजी धेरै भएपछि ठूला परियोजनामा एउटा बैंक पनि लगानी गर्न सक्षम हुन्छ। मर्जरले बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि घट्ने विश्वास गरिएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै बैंकको सट्टा थोरै हुँदा अस्वस्थ प्रतिस्पर्धा घट्ने बताए। ‘अहिले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै छ,’ ढुंगानाले भने, ‘१८ वटा संस्था मर्ज भएर एउटा हुनु सुखद पक्ष हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस