aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मुम्बईमा नेपालीको सफल व्यवसाय, डेढ सयलाई रोजगारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
मुम्बईमा नेपालीको सफल व्यवसाय, डेढ सयलाई रोजगारी

काठमाडौं । गुल्मीका मोतीलाल न्यौपाने मुम्बई गएको ३१ वर्ष भयो। उनी अहिले मुम्बईमा सफल व्यवसायीसँगै समाजसेवी भएका छन्। उनले मुम्बईमै उत्सो र सुरज नामका दुई होटल र डिस्को चलाउँछन्। उनले एक सय ५० जना भन्दा बढीलाई रोजगार दिएका छन् भने हरेक वर्ष मुम्बई सरकारलाई भारतीय रुपैयाँ ३० लाखभन्दा बढी कर बुझाउने गर्छन्। उनले आफ्नो होटलमा काम दिन सकेसम्म नेपालीलाई, त्यो नभए नेपाली मूलकालाई पहिलो प्राथमिकता दिन्छन्। मुम्बई महानगरपालिका, बोटीवालास्थित उनको होटलमा ३५ जना नेपालीले रोजगारी पाएका छन्।

उनी १७ वर्षकै उमेरमा नेपालबाट मुम्बई पुगेका हुन्। उनको होटलमा नेपाली, चाइनिज र इन्डियन परिकारका खाना पाइन्छ। साँझपख उनको होटलमा स्थानीय कलाकारले प्रस्तुति दिन्छन्। काठमाडौंमा जस्तो उनको डिस्कोमा अभद्र र अश्लील नृत्य भने हुँदैन। स्थानीय प्रहरी हरेक दिनजसो डिस्कोमा जाँच गर्न आउने गर्छ।

मुम्बईमा व्यावसायमा सफल भएका न्यौपाने एक्लो होइनन्, मुम्बईमा नेपालीका १२ वटा होटल छन्। ती सबै होटल राम्रोसँग चलेका छन्। ‘मुम्बईमा काम गर्ने र ढुक्कसँग लगानी गर्ने वातावरण छ। त्यसैले यहाँ हामी राम्रोसँग व्यावसाय गर्न पाएका छौँ,’ न्यौपाने भन्छन्, ‘यहाँ जस्तै नेपालमा लगानी गर्ने वातावरण भए हामी लगानी गर्न इच्छुक छौँ।’ त्यसो त, न्यौपानेले नेपालमा पनि लगानी गरेका छन्। उनको लुम्बिनीमा एउटा व्यवसाय छ– मायादेवी गेस्ट हाउस। यसका लागि उनी कहिले नेपाल र कहिले मुम्बई बस्ने गर्छन्।

न्यौपानेले मुम्बईमा बस्ने नेपालीलाई संगठित गर्दै मनकामना एकता फाउन्डेसन पनि खोलेका छन्, जसमा उनी अध्यक्ष छन्। मुम्बईमा मात्रै नभएर त्यहाँदेखि १३० किलोमिटर दक्षिणमा पर्ने पुणेमा पनि नेपालीहरूले होटल चलाएका छन्। पुणेमा स्याङ्जाका राजु न्यौपानले ‘देवी रेजन्सी’ नामको होटल चलाएका छन।

स्याङ्जाका होमप्रसाद पाण्डे मुम्बईमा नेपालीले खोलेको ‘सुरज होटल’मा काम गरेर महिनाको ४५ हजार भारतीय रुपैयाँ बचत गर्छन्। उनी भन्छन्, ‘मुम्बईमा पनि नेपालीपन पाएका छु, खुसी छु।’ मोतीलालका अनुसार मुम्बईमा करिब ८० हजार नेपाली स्थायी रूपमा बसोबास गर्दै आएको अनुमान गरिएको छ। मुम्बईमा नेपालीहरूले विभिन्न पेसा–व्यवसाय पनि गरेका छन्। यहाँ नेपालीले दशैँ, तिहार, तिजजस्ता चाडपर्व पनि मनाउँछन् ।  अघिल्लो साता स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले काठमाडौंका केही पत्रकारलाई मुम्बई लगी त्यहाँ बसेका नेपालीसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर दिएको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस