काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्न टास्क फोर्स गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालेको संयोजकत्वमा टास्क फोर्स गठन गरिएको हो ।
मंसिर ९ गते कार्यालयमा सम्पन्न चालू आर्थिक वर्षको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चार महिनाभित्र उपत्यकाका सबै खाल्डा पुर्न तथा ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार टास्क फोर्स गठन गरिएको प्रधानमन्त्री कार्यालयमा प्रवक्ता यामलाल भुसालले जानकारी दिए ।
टास्क फोर्समा खानेपानी मन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका उपमहानिर्देशक, काठमाडौं उपत्यका विकास, सहरी पूर्वाधार विकास विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि यसका सदस्य छन् । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख यसका सदस्यसचिव हुनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस