
बारा । समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-८ बस्ने मुकेश साह तेलीलाई विहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
तेलीले बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ की एक महिलालाई उक्त समाजिक संजालनमार्फत २५ लाख रुपैयाँ लट्रि चिठा परेको र सरकारी राजश्व वापत अग्रिम केही रकम जम्मा गर्नुपर्छ भनि प्रलोभनमा पारी पटक पटक उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तेलीलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तैगरि, सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका-४ बस्ने २९ वर्षीय सुरज लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराको २०७२ भदौ ९ गतेको फैसलाले सरकारी कागज किर्ते मुद्दामा ११ महिना ४ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार वीरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस