aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनु, गैंडासँग नलोभिनु' मन्त्री अर्याल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनु, गैंडासँग नलोभिनु' मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गरिन ।

बाहिरैदेखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउनेगरी काम गर्न आग्रह गरिन । तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन सुझाइन ।

जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला  परेपछि त के गर्नु त !’ मन्त्री अर्यालले भनिन, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्नुनहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन । तर गलत काममा भने साथ नदिने बताइन । काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन ।

काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिइन । मन्त्री अर्यालले भनिन, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् ! इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’

सहभागी गण्डकी प्रदेशभरका भूमि तथा नापी कार्यालयका कर्मचारीलाई सचेत गराउदै मन्त्री अर्यालले मन्त्रालयले नीतिगत रुपमा गरेका परिवर्तन व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुने बताइन ।

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकिकृत भूमि ऐन बनाउन लागेको बताइन । सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडी बढ्न आग्रह गर्दै उनले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताइन ।

आफ्नो कामको समिक्षा हरेक क्षेत्रबाट गर्न सकिने भन्दै उनले कुन कार्यालय, विभाग, निकायमा के भइरहेको छ भनेर आफ्नो कार्यकक्षबाट हेर्न सकिने व्यवस्था गरिएको बताइन । त्यसलाई अब सबै ठाउँको लिंक गर्ने तयारीमा रहेको समेत उनले जनाइन ।

प्रतिक्रिया दिनुहोस