aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा हत्याउँदै नेकपा नेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा हत्याउँदै नेकपा नेता

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका ८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारूढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन्।

नेकपा नेता गगन पुरी सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको छ।

पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाको एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउने प्रयास खोजेको जिल्ला प्रहरी कार्यालय (झापा)का प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ।

साविकको कित्ता नम्बर ३० को जमिन ३ कित्तामा फेरिएको छ। अहिलेको कित्ता नम्बर ७४ को जमिन पौडेलको नाममा देखिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पौडेललाई प्रहरीले मंसिर १६ गते नै पक्राउ गरिसकेको छ। २ कठ्ठा जग्गा दिने सर्तमा पुरी सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ। याे समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाईंले लेखेकी छन्

प्रतिक्रिया दिनुहोस