
मेरो बैंकिङ करिअर निकै लामो छ । सायद चाखलाग्दो पनि मलाई लाग्छ, ४२ वर्ष लामो कथा संक्षेपमा राख्न गाह्रो छ । मैले मेरो करिअर केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकबाट सन् १९७८ को अक्टोबरमा शुरु गरेको थिएँ । त्यो बेला मैले भर्खर ५ महिना अघिमात्र चार्टर्ड एकाउन्टेन्टको अध्यायन पूरा गरेको थिएँ । युवा थिएँ त्यसैले राष्ट्र बैंकका अन्य कर्मचारीले ‘ओठ निचोर्दा दूध आउँछ होला,’ भनेर जिस्काउँथे ।
मलाई सार्वजनिक सेवामा काम गर्ने रहर थियो । किनकी मेरो परिवार यसमै अभ्यस्त थियो । त्यसैले मलाई मैले राष्ट्र बैंकमा बिताएका १२ वर्ष गर्व लाग्छ । त्यो अवधिले मलाई आधार, तालिम, अवसर, आत्मविश्वास र बलियो सञ्जाल दियो । जसले मलाई एउटा बाणिज्य बैंक सञ्चालकको रुपमा कम गर्न सक्ने बनायो । त्यसैले म जीवनको एक कालखण्डमा राष्ट्र बैंकको अंग बन्न पाएकोमा सो अवसरको लागि राष्ट्र बैंकप्रति कृतज्ञ छु ।
मैले राष्ट्र बैंकमा बिताएका १२ वर्षमध्ये ८ वर्ष बैंकिङ अनुगमन विभागको प्रमुख भएर बिताएँ । दुई वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषमा र दुई वर्ष राष्ट्रिय बाणिज्य बैंकमा बिताएँ ।
निजी बैंक स्थापनाको संघर्ष
सन् १९८८ मा मैले राष्ट्र बैंकबाट केही समयको लागि बिदा लिएँ र नेपालीको नेतृत्वमा पहिलो साझेदारी बैंक स्थपना गर्ने कामको थालनी गरेँ । त्यो बेला पञ्चायती व्यवस्था थियो । तर, दुर्भाग्य, केन्द्रीय बैंक र अर्थ मन्त्रालयबाट स्वीकृति पाए पनि त्यो काम त्यतिकै थन्कियो । मलाई तत्कालीन अर्थमन्त्रीले राष्ट्रिय बाणिज्य बैंकको पुनर्संरचनाको लागि सहयोग गर्न बारम्बार भने । र, बुज एलेन जो त्यो बेला कन्सल्ट्यान्टको रुपमा बाणिज्य बैंकमा काम गर्दै थिए, उनीसँग नजिक भएर काम गर्न भनियो ।
सन् १९९० मा जब प्रजातन्त्र पुर्नस्थापना भयो नेपालको इतिहासले नयाँ मोड लियो । साथै नेपालको तीव्र आर्थिक विकासको लागि पनि ढोका खुल्यो । वित्तीय क्षेत्र र अन्य क्षेत्रमा समेत विकासका बाटा खुले ।
पहिलो निजी बैंकको स्थापना
मैले सन् १९९० म फेरि बैंकिङ लाइसेन्सको लागि निवेदन दिएँ र दुई वर्षपछि अनुमति प्राप्त गरेँ । यसपछि नेपालीले नै व्यवस्थापन गरेको पहिलो निजी क्षेत्रको संयुक्त लगानीको हिमालयन बैंक स्थापना भयो । यसरी नेपाली बैंकिङ क्षेत्रमा हिमालयन बैंक एक कोशेढुंगा बनेपछि धेरै बैंक भटाभट खुल्न थाले ।
त्यो बेला बाणिज्य बैंक खोल्नु चानचुने चुनौती थिएन । तर, मलाई के विश्वास लाग्छ भने लगानी नगरी प्रतिफल पाइँदैन । त्यसैले पनि मलाई लोभलाग्दो सरकारी जागिर छोडेकोमा कहिल्यै पछुतो लागेन किनकी मैले जोखिम उठाउने मौका पाएँ ।
म अहिले पनि जोड दिन चाहन्छु, एउटा बलियो पूर्वाधार बैंक जोसँग लामो समयसम्मको लागि लगानी क्षमता होस्, त्यो यो समयको महत्वपूर्ण आवश्यकता हो ।
१० वर्षसम्म हिमालयन बैंकको व्यवस्थापन गरेपछि मलाई केही बेचैनी हुन थाल्यो । केही नयाँ गर्ने हुटहुटी चल्यो । वास्तबमा त्यो पूर्वाधार विकास बैंक स्थापना गर्ने तीव्र इच्छा थियो । यदी भाग्यले मलाई नठगेको भए अहिलेसम्ममा मैले पूर्वाधार विकास बैंक स्थापना गरिसकेको हुन्थेँ । वास्तबमा मैले त्यो काम गर्नै भनेर हिमालयन बैंक छाडेको थिएँ, तर समयले साथ दिएन ।
तपार्इं पत्याउनुहोस् वा नपत्याउनुहोस्, सन् २००१ मा हिमालयन बैंकको सञ्चालक समितिले मेरो राजीनामा स्वीकृत गरेको समाचार बाहिरिएको अर्को दिन नेपाल इन्डोस्विज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मार्क दुर्मेज ‘अस्विकार गर्नै नसक्ने’ प्रस्ताव लिएर आए । उनले मलाई नेपाल इन्डोस्विज बैंकको शेयर आधाभन्दा कम मूल्यमा खरिद गर्न प्रस्ताव गरे । वास्तबमा त्यो प्रस्ताव धेरै नै राम्रो थियो । त्यसैले म फेरि बाणिज्य बैंकतिर नै फर्किएँ ।
पूर्वाधार बैंकको मृगतृष्णा
नेपाल इन्भेष्टमेन्ट बैंक हाँकेको ६ वर्षसम्म पनि मलाई पूर्वाधार बैंकको नेपाललाई खाँचो छ भन्ने कुराले लखेट्न छाडेन । त्यसैले मैले यो प्रोजेक्टमा काम शुरु गरेंँ । एक वर्षसम्मको अथक प्रयासले आईएफसी, एडीबी, जर्मनीको डीईजी र भारतको आईडीएफसीसँग एकपछि अर्को गर्दै सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेँ ।
नेपालका १२ वटा बैंकहरुको संगठनको रुपमा नेपाल बैंकर एसोसिएसनसँग पनि सम्झौता भयो । त्यो बेला त्यो शक्ति सानो र चानचुने थिएन । तर, सन् २००८ को विश्वव्यापी आर्थिकमन्दीका कारण दुर्भाग्यपूर्ण अवस्था सिर्जना भयो, त्यो सम्झौतामा हस्ताक्षरकर्तामध्ये धेरैजसो पछि हटे । त्यसपछि त्यो विचार त्यतिकै थन्कियो । दुई वर्षअघिदेखि केही व्यापारीले यो विचारलाई फेरि अगाडि सारेका छन् । म त्यो प्रयत्नलाई पूर्णरुपमा सहयोग गर्नेछु । नेपाल इन्भेष्टमेन्ट बैंक त्यसमा लगानीकर्ताको रुपमा समेत रहनेछ । म अहिले पनि जोड दिन चाहन्छु, एउटा बलियो पूर्वाधार बैंक जोसँग लामो समयसम्मको लागि लगानी क्षमता होस्, त्यो यो समयको महत्वपूर्ण आवश्यकता हो ।
आर्थिक विकासको आधारः पर्यटन, जलविद्युुत् र शिक्षा
मैले नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेको सात वर्ष भयो । यो समयमा मैले नेपालको दिगो आर्थिक विकासको लागि भूमिका खेल्ने क्षेत्रसँग सहकार्यमा काम गरेँ । ती क्षेत्रहरु पर्यटन, जलविद्युुत् र शिक्षा नै हुन् । मलाई के लाग्छ भने हामीसँग यी क्षेत्र प्रयाप्त रणनीतिक र प्राकृतिक लाभका क्षेत्र हुन् । अनि यसमा काम गर्न चाहनेहरुका लािग प्रयाप्त उत्खनन्का अवसर पनि छन् ।
राजनीतिक स्थिरताको अपरिहार्यता
नेपाल आफंैमा गरिब मुलुक होइन तर यहाँ बारम्बार भइरहेको व्यवस्थापकीय परिवर्तनले यस्तो भएको हो । यसले अस्थिरता निम्त्याएको छ । वास्तबमा स्थिरता नै सबैचिज हो, यसमा सबैकुरा निर्भर रहन्छ । मेरो विचारमा जब कुनै निर्वाचित सरकारले आफ्नो निर्धारित कार्यकाल जब पूरा गर्न पाउँछ तब स्थिरता आउँछ ।
स्थिरताले आफैं एक प्रकारको चक्र निर्माण गर्छ, जहाँ विकास परियोजनामा लगानी हुन्छ अनि बजारमा पुँजीको आपूर्ति सहज हुन्छ । हाम्रो बैंकिङ क्षेत्रलाई दैनिक रुपमा चाहिने तरलता यसरी नै उपलब्ध हुने हो ।
यस्तो भएमा त्यो कुरा सही नीति र परिणामको रुपमा देखापर्छ । सबै नीतिलाई परिपक्व हुन र प्रभावकारी ढंगले लागू हुन समयको आवश्यकता पर्छ । कुनै सरकारले कसरी केही कुरा लागू गर्न सक्छ जबकी सन् १९९० देखि हेर्ने हो भने हरेक सरकार सरदर १३–१४ महिनामात्रै टिकेका छन् । स्थिरताले प्रत्यक्ष वैदेशिक लगानी पनि आकर्षित गर्छ । वैदेशिक लगानी कम जोखिम र मुलुकको राम्रो रेटिङसँग जोडिएको हुन्छ ।
त्यसो त बैंकिङ क्षेत्रले पनि यही अवस्थासँग परोक्ष सम्बन्ध राख्छ । स्थिरताले आफैं एक प्रकारको चक्र निर्माण गर्छ, जहाँ विकास परियोजनामा लगानी हुन्छ अनि बजारमा पुँजीको आपूर्ति सहज हुन्छ । हाम्रो बैंकिङ क्षेत्रलाई दैनिक रुपमा चाहिने तरलता यसरी नै उपलब्ध हुने हो । त्यसले हाम्रा उद्योगलाई विकसित हुने राम्रो अवसर सिर्जना गर्छ र अर्थतन्त्रलाई पनि चलायमान बनाइराख्छ । मलाईभित्रैबाट लाग्छ छ, कि त्यो अवस्थाको लागि एउटा बलियो सरकार चाहिन्छ, जुन आज हामीसँग छ ।
चुनौतीबारे केही चर्चा
अहिले नेपालको बैंकिङ क्षेत्रले सामना गरिरहेको प्रमुख समस्या भनेको नै यहाँ धेरै संख्यामा बैंक भए । यसले स्वस्थ वातावरण मात्र बन्न नदिएको होइन की दिगोपनामा समेत समस्या सिर्जना गरिरहेको छ । राष्ट्र बैंकले यो कुरा महशुस गरेको देखिन्छ, अहिले बैंकको संख्या संकुचित गर्ने कामको थालनीसमेत भइसकेको छ ।
अहिले राष्ट्र बैंक सही बाटोमा छ । हामीलाई अझ धेरै मर्जर र एक्युजिसनको जरुरी छ । त्यो तबमात्र सम्भव छ जब बैंकर्स अझ भनांै बैंकका प्रोमोटरहरुले आफ्नो ‘इगो’ छाड्ने छन् । यो कार्य सम्पूर्ण बैंकिङ उद्योगको हितको लागि, बैंकको संख्या घटाउनको लागि, बैंकलाई अझ बलिया र राम्रा बनाउनको लागि, बैंकको आन्तरिक खर्च घटाउनको लागि र विविधतासहित बैंकिङ क्षेत्रको विकास गर्नको लागि जरुरी छ ।
पक्कै पनि नेपाल सरकार र राष्ट्र बैंकले यो कार्य चाँडो गराउन आवश्यक सहुलियतको घोषणा गर्नुपर्ने हुन्छ । हामी २८ वटा बाणिज्य बैंक, २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित जसरी वित्तीय क्षेत्रमा छौं त्यसले निकट भविष्य मै ठूलो चुनौती सामना गर्न हामीलाई बाध्य पार्नेछ ।
खर्च बढ्दो छ र मुनाफा घट्दो छ । उता बैंकले सेवा र बैंकिङबीच अनि मुलुकको विकासको आवश्यकता र शेयरधनीले प्राप्त गर्ने लाभांशबीच सन्तुलन मिलाउनुपर्ने बाध्यता छ ।
अहिलेको महत्वपूर्ण काम भनेकै खर्च घटाउने काम हो । जुन हाम्रो जस्तो देशमा निक्कै गाह्रो छ । अहिले त्यो समय घर्किसक्यो जुनबेला बैंकिङ उद्योगले राम्रै दिन बिताएको थियो । अहिले अन्य उद्योगभन्दा बैंकिङ क्षेत्रले आफ्ना लगानीकर्तालाई धेरै नै काम मुनाफा दिइरहेको छ । यसले करमा भने राम्रै योगदान दिएको छ र सबै कुरा पारदर्शी छन् ।
मैले सिलिकन भ्यालीमा जे देखेँ
म भर्खरै क्यालिफोर्नियाको सिलिकन भ्यालीमा गएको थिए । त्यहाँ मैले बैंकिङ नयाँ ढंगले विकसित भइरहेको देखेँ । ग्राहक र निक्षेपकर्ताको आफ्नो फन्ड र क्रेडिटमा नियन्त्रणको प्रविधि विकास भएको रहेछ ।
आफूलाई जीवन्त राख्न हामीले पनि प्रविधिको तीव्र विकासमा पाइला राख्नुपर्छ । नयाँ उत्पादनसहित समयसँगै परिवर्तन लिएर आउनुपर्छ । परिवर्तन अपरिहार्य छ र सबैले यसलाई अँगाल्नुपर्छ । यदी अहिले हामी प्रविधिमैत्री हुन सकेनौ भने हामी निकट भविष्यमा नै गम्भीर चुनौती सामना गर्न बाध्य हुनुपर्नेछ । अन्वेषण भनेकै एक प्रकारको नयाँ खेल हो, अहिलेको समयमा ।
नेपालको पहिलो प्राथमिकता नै पूर्वाधारको विकासमा हुनुपर्छ । जुन अहिले हामी कहाँ आधारभूत तहभन्दा पनि कम छ । उच्च आर्थिक वृद्धिका लागि राम्रोसँग पूर्वाधारको विकास आवश्यक हुन्छ । यदी हामीले पूर्वाधारको विकास गर्यौं भने हामीसँग असीमित अवसर देखा पर्नेछन् । जहाँ बैंकिङ क्षेत्र फस्टाउनेछ । हामीले कहाँ हामी प्रतिस्पर्धी, प्राकृतिक र तुलनात्मक लाभ लिन सक्छौं भन्ने कुरामा ध्यान दिनुपर्छ ।
यो कुरामा म निक्कै आशावादी र उत्साहित छु । नयाँ पुस्ता आँटिलो, व्यावसायिक, शिक्षित र सबल छ । यी गुण सही बाटोमा हिड्न सक्यो भने हाम्रो भविष्य उज्जवल हुनेछ ।
जीवनका तीन चरण ‘लर्निङ, अर्निङ एण्ड गिभिङ’
म फेरि पनि मेरै जीवन कथामा फर्किन चाहान्छु । मलाई लाग्छ जीवनमा तीनवटा चरणहरु छन् ‘लर्निङ, अर्निङ एण्ड गिभिङ’।
मैले आफ्नो भागको तनाव र पीडा पनि भोगेँं । तथापि, सधैं शिर ठाडो पारिराखेँं । मलाई केही पश्चाताप पनि छ । तर, म निभेको भने होइन । म ओइल्याउन लागेको होइन तर केही सुस्तता भने अवश्य आउनेछ, मैले अझै पनि केही योजना सफल पार्नुछ ।
पहिलो चरण भनेको बढ्ने र पढ्ने समयको चरण हो । जुन ३० वर्षको उमेरसम्म चल्छ । दोस्रो, संघर्ष, काम र कमाइको चरण हो । यो चरण ६० वर्षको उमेरसम्म चल्छ । मैले हालसालै यी दुईवटा महत्वपूर्ण चरण पार गरेको छु र तेस्रोमा फाइल टेकेको छु । यो तेस्रो चरण भनेको आफूले दिने चरण हो, जुन ६० वर्षपछिको उमेरमा गर्नुपर्छ ।
मेरो चाखको क्षेत्र नेपाली कला र संस्कृतिका ऐतिहासिक कुराको संरक्षण र सम्वद्र्धन हो भन्ने यहाँहरु धेरैलाई थाहा छ जस्तो लाग्छ । यो क्षेत्रमा हामी निक्कै समृद्ध पनि छौं । बैंकिङ क्षेत्रका सम्पूर्ण साथीहरुलाई मेरो के बिनम्र अनुरोध छ भने हामीसँग भएका यी बहुमूल्य सम्पदा, संरचना जसले हामीलाई नेपालीको पहिचान दिन्छ र हाम्रो सम्मान बढाउँछ त्यसको सम्वद्र्धन गर्न भित्रैबाट लागौं ।
नेपालभित्र र बाहिर यहाँका कला र संस्कृतिलाई प्रचार गर्नु नेपालको पर्यटन उद्योगको लागि आवश्यक त छँदैछ त्यसबाट नेपालको गौरबसमेत बढ्छ । अहिले म जीवनको तेस्रो चरण, लगभग निवृतिभरणको नजिकमा छु । त्यसैले म मेरो समय, सम्पत्ति र शक्ति त्यसैमा खर्च गर्न चाहन्छु ।
निष्कर्षमा, मैले स्वीका गर्नैपर्छ अहिले म मेरो बैंकिङ करिअरको दोसाँधमा छु । मैले भन्नैपर्छ मैले महान ‘पारि’ खेलें । कडा परिश्रम गरेँ र मेहनतपूर्वक खेलेँ ।
मैले आफ्नो भागको तनाव र पीडा पनि भोगेँं । तथापि, सधैं शिर ठाडो पारिराखेँं । मलाई केही पश्चाताप पनि छ । तर, म निभेको भने होइन । म ओइल्याउन लागेको होइन तर केही सुस्तता भने अवश्य आउनेछ, मैले अझै पनि केही योजना सफल पार्नुछ ।
मेरा बैंकर साथीहरु, मबाट होसियार रहनुहोस् ! म तपाईहरुमध्ये कसैसँग ऋण माग्न आउन सक्छु । कृपया त्यो बेला अरुलाई भन्दा केही बढी दया/माया देखाउनुहोला । एउटा ‘रिटायर्ड’ बैंकरको नाताले मलाई अरुभन्दा कम ब्याजदरमा र थप शुक्क नलिई ऋण दिनु होला ।
(नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपाल बैंकर्स एसोसिएसनको ३३औं वार्षिक साधारण सभामा एसोसिएसनद्वारा प्रदान गरिएको लाइफटाइम एचिभमेन्ट अवार्ड ग्रहणपश्चात कार्यक्रमलाई गरेको सम्बोधनको सम्पादित अंश) –सम्पादक
प्रतिक्रिया दिनुहोस