aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हवाई सेवा कार्यदलको सुझाव : नेपाली र विदेशीसँग लिने भाडादरमा एकरूपता

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, २३ मंसिर २०७६
हवाई सेवा कार्यदलको सुझाव : नेपाली र विदेशीसँग लिने भाडादरमा एकरूपता

काठमाडौं । नेपालको हवाई उद्योगलाई छूट तथा सहुलियत दिने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले नेपाली र विदेशी यात्रुलाई लिने भाडादरमा एकरूपता ल्याउन सुझाव दिएको छ । कार्यदलले विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा प्रोत्साहन दिनुपर्ने सुझावसमेत दिएको छ । 

स्वदेशी तथा विदेशीको आन्तरिक उडान भाडादरमा एकरूपता ल्याउन, विदेशी हवाई यात्रु र अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न, ज्येष्ठ नागरिकहरूलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूट दिने, हवाई इन्धनको मूल्य घटाउने र अन्तरप्रदेश हवाईसेवा सञ्चालन गर्ने विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयले गत भदौ २३ गते कार्यदल गठन गरेको थियो । पूर्वसचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित आठ सदस्यीय कार्यदलले यी विषयमा अध्ययन गरी पर्यटन मन्त्री योगेश भट्टराईलाई आइतवार प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले कार्यदलले दिएका सुझावका आधारमा सुधारका कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । नेपाली र विदेशीलाई लिने भाडादरमा एकरूपता ल्याउन कार्यदलको सुझावका विषयमा सरोकारवालासँग छलफल गरी सहमतिमा पुग्ने उनको भनाइ थियो । ‘कार्यदलले दिएका सुझाव क्रमशः कार्यान्वयन गर्दै जाँदा सन् २०२० को नेपाल पर्यटन वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा छ,’ उनले भने । विदेशीलाई पनि नेपालीसरह भाडा लिने विषयमा निजी वायुसेवा सञ्चालकहरूले यसअघि नै लिखित असहमति जनाइसकेका छन् । 

कार्यदलले स्वदेशी तथा विदेशी नागरिकको हकमा समान भाडा दिने विषय हवाई उद्योग तथा एयरलाइन्सहरूको अन्तरराष्ट्रिय भाडादर, बजारको माग र आपूर्तिले निर्णय गर्ने भएकाले राष्ट्रिय भाडादरमा पनि सोहीअनुसारको नीति अवलम्बन गर्न सुझाव दिएको छ । तर, त्यस्तो नीति पूर्णरूपमा अवलम्बन नगर्दासम्म तत्कालका लागि पहिलो चरणमा आन्तरिकतर्फको विदेशीसँग लिइने हवाई भाडा दरको अधिकतम र न्यूनतम रकम तोक्न सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस