aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न पत्र

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २३ मंसिर २०७६
एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न पत्र

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो स्वामित्व खरिद बिक्री गर्दा लाग्ने लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले गत बिहीबार उक्त लाभकर निर्धारणसहितको पत्र कम्पनीलाई पठाएको हो ।

कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार मङ्सिर १९ गतेदेखि गणना हुनेगरी १५ दिनभित्र लाभकर दाखिला गर्न कम्पनीलाई निर्देशन दिइएको छ । यसअघि गत मङ्सिर ५ गते सर्र्वोच्च अदालतले गत भदौ ८ गतेको इजलासको पूर्णपाठ सार्वजनिक गर्दै २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ लाभकर निर्धारण गरेको थियो । पूर्णपाठमै उल्लेख भएअनुसार कार्यालयले कानुनबमोजिम थप एक अर्ब ३४ करोड १४ लाख रुपियाँ ब्याजसहित लाभकर निर्धारण गरेको अधिकारीले जानकारी दिए।

चार वर्षअघि २०७२ चैत २९ गते स्विडेनको कम्पनी टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर तत्कालीन बजार मूल्यअनुसार एक खर्ब ४३ अर्ब ६५ करोड रुपियाँमा मलेसियन कम्पनी एजिएटालाई बिक्री गरेको थियो । उक्त कारोबारपश्चात् एनसेलको स्वामित्व बिक्रीमा पुँजीगत लाभकर राष्ट्रिय चर्चाको विषय बनेको थियो । संसद्अन्तर्गतका विभिन्न समितिमा पनि यो विषयमा दर्जनौँ पटक छलफल भएको थियो ।

लामो समयदेखि टुङ्गिन नसकेको एनसेलको लाभकर विवादका विषयमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई तथा टङ्क मोक्तानको २०७५ चैत २७ गते बसेको पूर्ण इजलासले एनसेलको लगानीकर्ता एजियटाबाट तीन महिनामा लाभकर उठाउन ठूला करदाता कार्यालयलाई आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशपछि कार्यालयले वैशाख ३ गते एनसेललाई ६० अर्ब ७१ करोड २४ लाख रुपियाँ कुल लाभकर निर्धारण गरी बाँकी रहेको ३९ अर्ब छ करोड छ लाख ८४ हजार ८१५ रुपियाँ लाभकर भुक्तान गर्न सात दिनको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस