काठमाडौं । ७२ दशमलव ५ किलोमीटर (किमी) लामो बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्गको निर्माण सम्पन्न हुने समय डेढ वर्ष पछि धकेलिएको छ । नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा रहेका प्राविधिक पक्ष ‘लिक’ भएको भन्दै परामर्शदाता छनोट कार्यमा ढिलाइ हुँदा र आयोजनाका मुख्य कार्य (पुल र सुरुङमार्ग) बनाउने काम २०७७ देखि मात्र शुरू हुने भएपछि निर्माण सम्पन्न हुन ढिलाइ हुने भएको हो ।
उक्त आयोजनाको नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएलगत्तै गत भदौ ११ गते बुधवार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले साढे ३ वर्ष अर्थात् २०७९ को मध्यसम्ममा द्रुतमार्गको काम सम्पन्न गर्ने बताएको थियो । तर, त्यसको ४ महीनापछि सोमवार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरेर सेनाले २०८१ सालसम्ममा आयोजनाको काम सम्पन्न हुने नयाँ समय तोकेको छ ।
डीपीआर स्वीकृत भएपछि केही प्राविधिक गडबडीका कारण पुल निर्माणका लागि छनोट गरिएका डकुमेन्टहरू ‘लिक’ भएको भन्दै सेनाले पुराना परामर्शदाताहरू रद्द गरी पुनः काम शुरू गर्दा द्रुतमार्ग निर्माणको काम २०८१ सम्म सरेको बताएको छ । साथै द्रुतमार्गको डीपीआर स्वीकृत भएपछि पनि मुख्य कार्य सुरुङमार्ग र विशेष पुल निर्माण शुरू गर्न १ वर्ष लाग्ने भएको छ । सेनाले अन्तिम चरणमा पुर्याएको समष्टिगत गुरुयोजना (होलिस्टिक प्लान) अनुुसार मुख्य काम भने २०७७ को पहिलो चौमासिकभित्र शुरू हुने भएको छ ।
डीपीआर स्वीकृतिको ३ महीनापछि सेनाले पुनः यो गुरुयोजनाअनुसार काम अघि बढ्ने जानकारी दिएको छ । सेनाको यो पछिल्लो गुरुयोजनाअनुसार डीपीआर स्वीकृत भएको १ वर्षपछि मात्रै निर्माण शुरू हुने देखिएको हो ।
प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले तोकिएकै समयमा आयोजनाको निर्माण सम्पन्न गर्न समष्टिगत गुरुयोजना (होलिस्टिक प्लान) बनाउने काम अन्तिम चरणमा पुगेको बताए ।
उनले भने, ‘सडक, पुल, सुरुङमार्ग तथा द्रुतमार्गका लागि आवश्यक अन्य भौतिक संरचनाको एकीकृत प्याकेज बनाई प्रभावकारी रूपमा निर्माण अघि बढाउन समष्टिगत गुरुयोजना कार्यान्वयनमा ल्याइँदै छ ।’ उक्त गुरुयोजनाअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्माण व्यवसायीहरूलाई चरणबद्ध रूपमा कार्य–प्राथमिकताका आधारमा छनोट गरिनेछ । सोहीअनुसार द्रुतमार्ग निर्माण कार्य २०७७ को पहिलो चौमासिकभित्र दु्रतगतिमा थालिने श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
उक्त द्रुतमार्गमा १६ ओटा विशेष पुल र कुल ६ दशमलव ४१ किलोमीटर (किमी) का तीनओटा सुरुङमार्गको निर्माण सबैभन्दा जटिल मानिन्छ । यी निर्माणलाई प्राथमिकतामा राखी अन्य संरचना बनाउन सेनाले समष्टिगत गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको हो । श्रेष्ठले सुरुङमार्ग निर्माणका लागि जियोटेक्निकल तथा जियोफिजिकल अध्ययन गर्न परामर्शदाता छनोट कार्य भइरहेको जानकारी दिए ।
आगामी असार मसान्तभित्र जियोटेक्निकल प्रतिवेदन तयार हुनेछ । त्यसपछि प्रिक्वालिफिकेशनबाट छनोट हुने अन्तरराष्ट्रिय निर्माण व्यवसायीबाट सुरुङमार्ग निर्माण अघि बढाउने सेनाले बताएको छ । द्रुतमार्गको निर्माण, पर्यवेक्षण (सुपरभिजन) तथा डिजाइनका लागि अन्तरराष्ट्रिय परामर्शदाताको छनोट गर्ने कार्य पूरा भइसकेको बताउँदै सेनाले आगामी चैत/वैशाखभित्र परामर्शदाता नियुक्त भइसक्ने पनि जानकारी दिएको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्ग सेनाको प्रतिष्ठासँग जोडिएको बताउँदै तोकिएकै समयमा आयोजना सम्पन्न हुने बताए । नयाँ डीपीआरअनुसार पुल र सुरुङमार्गको संख्या बढेसँगै आयोजनाको रेखांकनमा पर्ने थप कुल २६४ रोपनी जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको पनि सेनाले बताएको छ । रेखांकनमा पर्ने खोकना इलाकामा १६५ रोपनी तथा सुरुङमार्ग धेद्रेमा ऐलानी २५ र नम्बरी ७४ रोपनी जग्गा प्राप्त गर्न अझै बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस