काठमाडौं । यातायात व्यवस्था विभागले मास प्रिन्टरबाट दैनिक १० हजार स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए पनि १ सातामा जम्मा ३५ सय लाइसेन्स छापेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार गत मंगलवारदेखि लाइसेन्स छपाइ शुरू गरिएको छ ।
विभागले गत वैशाख १६ मा भारतको चेन्नईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्ससँग रू. ४ करोड ८४ लाखमा सेवाग्राहीलाई छिटो स्मार्ट लाइसेन्स उपलब्ध गराउने भन्दै एकैपटक ठूलो परिणाममा लाइसेन्स छाप्ने मास प्रिन्टर मेशिन किनेको थियो । सरकारले १० लाख कार्डसहित उक्त रकममा मास प्रिन्टर किनेको हो ।
सम्झौतालगत्तै विभागले असारभित्र मास प्रिन्टर आउने र दशैंसम्म लाइसेन्सको समस्या समाधान हुने बताएको थियो । असार मसान्तसम्म उक्त प्रिन्टर उपलब्ध गराउने सहमति भए पनि कम्पनीले १ महीना ढिलो गरी उक्त प्रिन्टर उपलब्ध गरायो । त्यसको केही दिनमा कार्डसमेत उपलब्ध भएकोमा विभागले कात्तिक पहिलो साताभित्र लाइसेन्सको समस्या सकिने दाबी गरेको थियो ।
त्यसपछि मास प्रिन्टर जाँच गरी प्रिन्टर गुणस्तरीय भएको बताएको विभागले पटकपटक मास प्रिन्टर सञ्चालनमा ल्याउने मिति घोषणा गरे पनि घोषणाअनुसार सञ्चालनमा ल्याउन सकेन ।
यसअघि विभागका महानिर्देशक हमालले कात्तिक अन्तिम सातामात्रै मास प्रिन्टर जाँच सकिएको र जाँचमा कुनै समस्या नदेखिएको बताएका थिए । ‘जाँचमा मेशिनमा कुनै समस्या देखिएन, अब १ सातामा मास प्रिन्टर नियमित रूपमा दैनिक १० हजार लाइसेन्स छपाइसहित सञ्चालनमा आउँछ,’ उनले भनेका थिए । सो क्रममा विभागले वितरण नगर्ने गरी परीक्षणका रूपमा केही लाइसेन्स छापेको थियो ।
प्रिन्टर ल्याएर लाइसेन्स छपाइ शुरू गरिहाल्ने उद्देश्य आफूहरूको रहेको बताउँदै आएका महानिर्देशक हमालको आर्थिक अभियानसँग भने, ‘प्राविधिक कारणले मास प्रिन्टर सञ्चालनमा ढिलाइ भयो ।’
विभागले मास प्रिन्टर सञ्चालनमा आउन ढिलाई हुनुमा मद्रास सेक्युरिटी प्रिन्टर्स दोषी भएको बताउने गरेको छ । २ वर्षसम्म मद्रास सेक्युरिटी प्रिन्टर्सले नै प्राविधिक गतिविधि हेर्ने विभागका आईटी प्रमुख श्रीचन्द्र शाह बताउँछन् ।
‘मास प्रिन्टर सञ्चालनमा नआएसम्म मेशिनको रकम उपलब्ध नगराउने भने पनि कम्पनीले नै यसलाई सञ्चालनमा ल्याउन ढिलाइ गर्यो,’ उनले भने । विभागले हालसम्म कम्पनीलाई मेशिनको रकम उपलब्ध गराएको छैन । नियमित र पूर्णरूपमा सञ्चालनमा आएपछि उक्त रकम भुक्तानी गर्ने विभाग बताउँछ ।
हाल वितरण गर्नेगरी लाइसेन्स छपाइ शुरू गरिए पनि मेशिन परीक्षणकै रूपमा रहेको र नियमित सञ्चालनमा नआएको विभागको दाबी छ । ‘कार्यालय समयमा लाइसेन्स छपाइको काम नियमित भइरहेको छ,’ विभागका आईटी प्रमुख श्रीचन्द्र शाहले बताए ।
उनका अनुसार मेशिन सम्झौताअनुरूप नै गुणस्तरीय छ । नियमित रूपमा तोकिएबमोजिम लाइसेन्स छाप्ने तयारी आपूmहरूले गरिरहेको उनी बताउँछन् । यद्यपि, नियमित र पूर्णरूपमा सञ्चालनमा आउने दिन भने तोक्न नसकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस