aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बैंकका ग्राहकले पाउने बीमा सुविधामा कडाइ

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २४ मंसिर २०७६
बैंकका ग्राहकले पाउने बीमा सुविधामा कडाइ

काठमाडौं । निक्षेपकर्ता, ऋणी र सदस्यले बैंक, वित्तीय तथा सहकारी संस्थाबाट पाउने बीमा सुविधामा कडाइ गरिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बीमा सुविधा प्रदान गर्दै आएका छन् । बीमा समितिले सोमवार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै त्यस्ता संस्थाका ग्राहकलाई दिइने बीमा सुविधामा सीमा तोकेको हो ।

यद्यपि, समितिसँग बैंक तथा वित्तीय संस्था तथा उनीहरूका ग्राहकलाई नियमन गर्ने अख्तियार भने छैन । त्यसैले समितिले बीमा कम्पनीहरूलाई सोही मार्गदर्शनबमोजिम बैंक तथा वित्तीय संस्थाका ग्राहकको बीमा गर्न निर्देशन दिएको हो, जसअनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहक र सदस्यले पाउने बीमा सुविधा घट्ने देखिएको छ ।
हाल बैंकहरूले बीमा कम्पनीहरूसँगको सहकार्यमा आफूखुशी ग्राहकलाई स्वास्थ्य, दुर्घटना तथा औषधोपचार बीमा सुविधा दिँदैआएका छन् । अब बैंकहरूले मार्गदर्शनअनुसार मात्र आप्mना ग्राहकलाई बीमा सुविधा दिनुपर्ने छ । 

नयाँ व्यवस्थाअनुसार जीवन बीमा कम्पनीले त्यस्ता संस्थाका ग्राहक तथा सदस्यको अधिकतम रू. १० लाखसम्मको मात्र घातक रोग बीमा गर्न पाउँछन् ।

औषधोपचार बीमा भने रू. १ लाखभन्दा बढीको गर्न नपाइने व्यवस्था गरिएको छ । 

निर्जीवन बीमा कम्पनीले पनि सोही सीमामा रहेर उनीहरूको घातक रोग तथा औषधोपचार बीमा गर्नुपर्ने छ । उनीहरूले त्यस्ता संस्थाका ग्राहकको दुर्घटना बीमा गर्दा पनि रू. १० लाखभन्दा बढीको बीमांक राख्न नपाउने व्यवस्था गरिएको छ ।

तोकिएको सीमाभन्दा बढीको बीमांकमा बीमा गर्दा कम्पनीले सम्बद्ध जोखिमांकन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ । सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका आधारमा जोखिमांकन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

हाल बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिने बीमा सुविधाको विषयमा कुनै नीतिगत व्यवस्था छैन । सोही विषयलाई ध्यानमा राखेर समितिले त्यस्तो बीमा व्यवसायलाई नियमनको दायरामा ल्याएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई बीमा सुविधा दिँदा तोकिएको खाकामा प्रस्ताव फारम भर्नुपर्ने व्यवस्था पनि गरिएको छ । प्रस्ताव फारममा ग्राहकको स्वास्थ्य स्थितिको बारेमा पनि जानकारी दिनुुपर्ने बताइएको छ । यसअघि ग्राहकलाई बीमा सुविधा दिँदा यस्तो औपचारिकता पूरा गर्नुपर्ने बाध्यता थिएन । 

यस्तै, त्यस्ता संस्थाले ग्राहकलाई बीमा गरिदिएको प्रमाणपत्र पनि दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । सोका अतिरिक्त बीमा कम्पनीले पनि सम्बद्ध संस्थाको नाममा छुट्टै मूल बीमालेख जारी गर्नुपर्ने बताइएको छ । 

समितिले यस्तो बीमा व्यवसायको प्रचारप्रसारमा पनि कडाइ गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सित्तैमा बीमा सुविधा दिने भनेर प्रचार गर्ने गरेका छन् । तर, त्यो ग्राहकका लागि सित्तैमा भए पनि उनीहरूले सम्बद्ध बीमा कम्पनीलाई तोकिएको शुल्क तिरेका हुन्छन् । तसर्थ, यस्तो बीमाबापात लाग्ने प्रिमियम संस्था स्वयंले नै बेहोर्ने भनी प्रचार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस्तो बीमा व्यवसायलाई व्यवस्थित बनाउन मार्गदर्शन जारी गरिएको बताए । ‘पहिला ग्राहकले बैंकमा खाता खोलेर केही पैसा जम्मा गर्नेबित्तिकै बीमा हुन्थ्यो । त्यसले गर्दा यो व्यवसाय केही जोखिमयुक्त पनि देखियो,’ उनले भने, ‘तर, अब त्यस्तो अवस्था हुँदैन, त्यस्ता संस्थाहरूले ग्राहकको स्वास्थ्य परीक्षण गरेर बीमा गरिदिएको प्रमाणपत्र पनि दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस