aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मन्त्रीको ठाडो निर्देशनमा १४ कर्मचारी नियुक्त

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २४ मंसिर २०७६
मन्त्रीको ठाडो निर्देशनमा १४ कर्मचारी नियुक्त

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो निर्देशनमा कोसी अस्पतालमा १४ कर्मचारी नियुक्त गरेको पाइएको छ। एक वर्षअघि नै ठाडो निर्देशन दिएर अस्पतालमा कर्मचारी राखेको राष्ट्रिय सर्तकता केन्द्रले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

करारमा कार्यालय सहयोगी तथा फार्मेसी सहायक नियुक्त गर्दा विज्ञापन तथा प्रतिस्पर्धाबिनै मन्त्रीको निर्देशनमा भर्ना गरेको पाइएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा नियमविपरीत मन्त्री घिमिरेको राजनीतिक हस्तक्षेपका आधारमा कर्मचारी नियुक्त गरेको केन्द्रको निष्कर्ष छ।

मन्त्री घिमिरेले वर्ष दिनअघि नियुक्तीका लागि पठाएका १४ मध्ये १० जना कर्मचारी नियमित काममा रहेको प्रतिवेदनमा उल्लेख छ। केन्द्रको प्रतिवेदनमा बबिता सुवेदी, भोलानाथ ढुंगेल, मैयादेवी मैनाली, डम्बरकुमारी पोखरेल, सरद अधिकारी, विमला पौडेल, दयाराम यादव, शिरिश साह र संध्याकुमारी साह अस्पतालमा नियमित हाजिर भइरहेको उल्लेख छ।

तीमध्ये शिरिश, संध्या र दयाराम फार्मेसी सहायक हुन्। ५ जना कार्यालय सहयोगी हुन्। कार्यालय सहयोगी नियुक्त भएकी विमला पौडेल अस्पतालका नासु जर्नादन पौडेलको आफन्त भएको उल्लेख छ। केन्द्रमा मन्त्रीको राजनीतिक हस्तक्षेपले कर्मचारी भर्ना गरेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा नियमविपरीत कर्मचारी भर्ना गरेको पाइएको हो।

अस्पतालमा सरकारका तर्फबाट ५३ र अस्पताल विकास समितिका तर्फबाट ९७ कार्यालय सहयोगीको दरबन्दी छ। प्रतिवेदनअनुसार अस्पतालका नासु नवराज लुइटेलको नियुक्तीको फाइल नै गायब रहेको उल्लेख गरिएको छ। अस्पताल विकास समितिबाट नियुक्ती पाएका लुइँटेलको नियुक्तीको फाइनल नभेटिए पनि २०६४ सालमा स्थायी बनेको उल्लेख छ। केन्द्रको ०७६ भदौ ३ गतेको निर्णयअनुसार कर्मचारी नियुक्ति गर्दा प्रक्रिया पुर्‍याएर गर्न सुझावसमेत दिएको उल्लेख गरिएको छ। कर्मचारी नियुक्तिबारे बुझ्न मन्त्री घिमिरेलाई बारम्बार फोन गर्दा उनले उठाएनन्।

प्रतिक्रिया दिनुहोस